ओली भन्छन् : एमाले अरु पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्तिको रुपमा रहेको दाबी गरेका छन् ।
पार्टी निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले एमाले मुलुकमा अरु पार्टी भन्दा बढि बलियो, व्यापक र अग्लो रहेको बताए ।
‘दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमाले विरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरुले ढाल बनेर छेकेका छन्,’ उनले भने, ‘अनमेसंघ र अरु संगठनहरु सक्रिय छन ।’
त्यस अवसरमा उनले पार्टी भित्र गुटबन्दी नगर्न पनि निर्देशन दिए । एमाले भित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए ।
‘आजको एमाले भित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि स्वार्थका लागि यसो ग्रुप बनाएझैं । खेल्न खोजे झैं त्यस्तो खालको नगर्नुहोला,’ ओलीले अघि भने, ‘एक छिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं । यसमा तलमाथि हुँदैन ।’
ओलीले अखिल नेपाल महिला संघले पनि ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्ने बताए ।
Comments are closed.