Online News

क्रिकेट मैदानमा आगो ओकलिरहेका सन्दीप लामिछाने

7

 २०७९ फागुन २९

लिग- २ अन्तर्गत नेपालले खेलका पछिल्ला ११ एक दिवसीयमध्ये १० वटा म्याचमा जीत दर्ता गर्‍यो । यदि सन्दीप टीममा नरहेको भए नेपालले सायदै यो सफलता हात पार्न सक्थ्यो । टीमका सबै खेलाडीले कुनै न कुनै खेलमा योगदान दिएका छन् । तर, सन्दीपले हरेक खेलमा, हरेक जीतमा महत्वपूर्ण भूमिका निभाए । उनी कुनै म्याचमा होइन, कुनै क्षणमा पनि असफल भएनन् ।

६ महिना अगाडि फर्किने हो भने यी नै सन्दीप लामिछाने हुन्, जसको हातमा क्रिकेटको बल होइन, प्रहरीको हत्कडी लागेको थियो । विदेशबाट नेपाल फर्किने क्रममा त्रिभुवन विमानस्थलमा प्रहरीले सन्दीपलाई खुंखार अपराधीका रुपमा हत्कडी लगाएर हिरासत लैजाँदै गर्दा सायदै कसैले सोचेको थियो, उनलाई यति छिट्टै फेरि क्रिकेट मैदानमा देख्न पाइएला । यो त झनै कल्पना बाहिर थियो कि यी नै सन्दीपले नेपालको गुम्ने संघारमा रहेको एक दिवसीय मान्यता जोगाउन निर्णायक भूमिका निभाउन पाउलान् ।

वास्तवमा त्यसवेला सबैले सन्दीपको करिअर सकिएको भविष्यवाणी गरेका थिए । अवस्था पनि त्यस्तै नै थियो । तर, पाटन उच्च अदालतले सन्दीपलाई धरौटीमा छोड्ने फैसला गरेपछि सन्दीप र नेपाली क्रिकेटको भवितव्य फेरियो । उनलाई तत्काल राष्ट्रिय क्रिकेट टीममा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान) को निर्णय ‘मास्टरस्ट्रोक’ झैं बन्यो ।

सन्दीपको अनुपस्थितिमा नेपाली क्रिकेट कता जाला भन्ने प्रश्न उठेको थियो । सन्दीप हिरासतमा छँदा नेपालले विश्वकप लिग २ का चारवटा म्याच खेल्दा कुनैमा पनि जीत हासिल गर्न सकेन । नेपाल, स्कटल्यान्ड र नामिबियाको त्रिकोणात्मक श्रृंखलामा नेपालले तीन हार व्यहोरेको थियो भने नामिबियाविरुद्धको एउटा म्याच वर्षाका कारण रद्द भएर अंक बाँडिएको थियो ।

गत फेबु्रअरीमा घरेलु मैदानमा नै भएको नेपाल, स्कटल्यान्ड र नामिबियाको दोस्रो श्रृंखलामा सन्दीपले कमब्याक गरेका हुन् । जेलमुक्त भएलगत्तै सन्दीपलाई टीममा राख्दा उनको फिटनेसदेखि मानसिक अवस्थाका बारेमा समेत संशय थियो । उनलाई राष्ट्रिय टीमबाट नखेलाउन राजनीतिक दबाबसमेत परेको थियो । तर, क्यानले सन्दीपका पक्षमा अडान लियो र सन्दीपले पनि सोचे जस्तो डेलिभरी दिए ।

सर्वोच्चले फेरि पक्राउको आदेश दिनसक्ने त्रासका बीच सन्दीप त्रिवि मैदानमा कमब्याक गरेका थिए । अत्यन्तै ठूलो मनोवैज्ञानिक दबाबमा खेलेका उनले पहिलो बलबाटै आगो ओकल्न थाले । उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमा नै नामिबियाका ओपनरलाई बोल्ड गरिदिए । त्यो क्षण सन्दीपका लागि अविस्मरणीय थियो । त्यो विकेट सम्भवतः उनको जीवनकै सबैभन्दा बहुमूल्य थियो । विकेट लिएपछि सन्दीपले आफ्नो आँसु रोक्न सकेका थिएनन् ।

त्यसयताका हरेक खेलमा सन्दीपले निरन्तर विकेट लिइरहेका छन् । नेपालमा भएका चार खेलमा उनले १३ विकेट चड्काए । त्यसपछि नेपालले यूएईमा चार म्याचको श्रृंखला खेल्यो । अदालतले उनलाई विदेश जान अनुमति नदिएकाले सन्दीप सुरुवाती टीममा परेनन् । अदालतको आदेश उल्टाउन उनले पुनरावेदन गरे । सर्वोच्चले उनीमाथि लागेको प्रतिवन्ध फुकुवा गरिदियो । यूएईमा पहिलो म्याच गुमाएका सन्दीपले बाँकी तीन म्याच खेल्न पाए । त्यहाँ पनि उनको आँधी जारी रह्यो ।

यूएईमा सन्दीपले अर्को सरप्राइज पनि दिए । त्यहाँ उनको बलिङसँगै ब्याटिङ पनि चम्कियो । घरेलु टीम यूएईविरुद्धको दोस्रो खेलमा हारको संघारमा पुगेको अवस्थाबाट टीमलाई उद्धार गर्ने क्रममा सन्दीपले ओपनर आसिफ शेखसँग म्याच विनिङ पार्टनरसीप गरे । यूएईमा उनी नेपालको तर्फबाट सर्वाधिक रन जोड्ने आसिफ शेखपछि दोस्रो बलर थिए । त्यहाँ खेलका तीन म्याचमा उनले ६ विकेट लिए ।

अहिले फेरि घरेलु मैदानमा नेपालले यूएई र पपुवा न्यूगिनीसँग त्रिकोणात्मक सिरिज खेलिरहेको छ । घरेलु श्रृंखलामा भएका तीन म्याचमा नेपालले दुवै प्रतिस्पर्धीविरुद्ध दबदबापूर्ण जीत निकाल्न सफल भयो । यी तीनवटै म्याचमा सन्दीपले उत्कृष्ट बलिङ गरेका छन् ।

पहिलो म्याचमा पीएनजीविरुद्ध चार विकेट लिँदै सन्दीपले फेरि एकपटक आफ्नो सामर्थ्य देखाइदिए । सो म्याच नेपालले ५२ रनले जित्यो । दोस्रोमा यूएईविरुद्ध ललित राजवंशीले ५ विकेट लिँदा सन्दीपले २ विकेट लिए । उक्त म्याचमा केवल चार ओभर बलिङ गर्दा उनले यूएईका दुई महत्वपूर्ण ब्याट्सम्यानलाई आउट गरेका थिए । यदि पूरा कोटा बलिङ गर्न पाएको भए सन्दीपको विकेट चार्ट बढ्न सक्थ्यो । तर, यूएई २२ ओभरमै अलआउट भएपछि सन्दीपको बाँकी ६ ओभर खेर गयो ।

आज भएको खेलमा सन्दीपले आफ्नो खेलको उच्चता प्रदर्शन गरे । उनको स्पिनमा पीएनजीका पाँच ब्याट्सम्यान सोत्तर हुन पुगे । पीएनजी ९५ रनमै अलआउट भयो ।

नेपाली क्रिकेटलाई माया गर्ने आयरल्याण्डका कमेन्टेटर एन्ड्र्यू लियोनार्ड आज कमेन्ट्रीका क्रममा भन्दै थिए, ‘सन्दीप मन लागेको वेला विकेट लिइरहेका छन् ।’

साँच्चै त्यस्तै भइरहेको छ । जतिवेला नेपाललाई विकेट सख्त आवश्यक हुन्छ, कप्तान रोहित पौडेल ढुक्क भएर सन्दीपको हातमा बल थमाउँछन् । जब रनको रफ्तार रोक्नुपर्ने हुन्छ, कप्तान उनै सन्दीपलाई गुहार्छन् । अनि सन्दीपले पनि कप्तानले चाहेकै रिजल्ट दिन्छन् ।

सन्दीप यतिवेला धेरै कीर्तिमानहरुसँग जोडिएका छन् । विश्वकप लिग २ मा सर्वाधिक विकेट लिनेहरुको सूचीमा उनी दोस्रो स्थानमा छन् । केही म्याचहरु गुमाएका कारण उनी पहिलो स्थानमा उक्लिन भने सकेनन् । अब पहिलो हुन अन्तिम खेलमा उनले यूएईविरुद्ध ६ विकेट लिनुपर्छ ।

सन्दीपले बनाएको ठूलो विश्व कीर्तिमान चाहिँ लगातार म्याचमा विकेटको हो । सन्दीपले ३० म्याचदेखि लगातार विकेट लिइरहेका छन् । उनले विकेट नलिएको म्याच खोज्न ३२ खेल पछाडि फर्किनुपर्छ । यसअघि सर्वाधिक म्याचमा लगातार विकेटको कीर्तिमान अष्ट्रेलियन लिजेन्ड ब्रेट लिको नाममा थियो । उनले लगातार २६ म्याचमा कम्तिमा एक विकेट लिएका थिए । सन्दीप लीभन्दा धेरै अगाडि बढिसकेका छन् ।

सन्दीप अर्को महत्वपूर्ण विश्व कीर्तिमानको धेरै नजिक छन् । त्यो हो सर्वाधिक छिटो गतिमा १०० विकेट । सन्दीपले अबका ३ खेलमा २ विकेट लिन सफल भए सर्वाधिक थोरै म्याचमा विकेटको शतक पुर्‍याउने विश्व कीर्तिमान राख्नेछन् । रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए भने सन्दीपले ४० खेलमा ९८ विकेट लिएका छन् ।

नेपालले लिग- २ को अन्तिम खेल बिहीबार यूएईविरुद्ध खेल्दैछ । उक्त खेलमा कम्तिमा दुई विकेट लिएर सन्दीपलाई विश्व कीर्तिमान बनाउने मौका छ । त्यसमा सफल नभए उनीसँग थप दुई खेल बाँकी हुनेछन् । यद्यपि सन्दीपको प्राथमिकता व्यक्तिगत कीर्तिमानभन्दा पनि टीमको जीत हो । नेपालले यूएईविरुद्ध जीत हासिल गरेमा जिम्बावेमा हुने विश्वकपको ग्लोबल क्वालिफायर खेल्न पाउनेछ । त्यो भनेको नेपालका लागि एक स्तरमाथिको प्रतिस्पर्धा हो ।

टीमलाई यो स्थितिमा पुर्‍याउन सबै खेलाडीहरुको योगदान छ । तर, अन्य खेलाडीहरुको खेलमा उतारचढाव भइरहँदा सन्दीप चाहिँ कहिल्यै असफल भएका छैनन् । उनको प्रदर्शन एकतमासले उत्कृष्ट छ ।

जेलमुक्त भएयता निरन्तर उत्कृष्ट बलिङ गर्दै आए पनि सन्दीपले म्यान अफ द म्याचको अवार्ड भने पाउन सकेका थिएनन् । आज भने उनी निर्विकल्प म्यान अफ दि म्याचको हकदार थिए र भए पनि । सो पुरस्कार पाएपछि सन्दीप निकै भावविह्वल बने । दोस्रोपटक उनको आँखामा आँसु देखियो ।

सन्दीप मानसिक रुपमा अन्त्यन्तै बलिया व्यक्ति हुन् । प्रहरीले पक्राउ गर्दा र हत्कडी लगाउँदासमेत उनी विचलित देखिएका थिएनन् । विगतमा उनले नेपालका लागि यस्ता प्रदर्शनहरु धेरै गरेका छन्, कहिल्यै मैदानमा भावुकता पोखेनन् । तर, अहिले जस्तो समयबाट गुज्रिरहेका छन्, उनको आँखामा आँसु आउनुको अर्थ सहजै बुझ्न सकिन्छ । सन्दीप आफ्नो खेलबाट सबैलाई जवाफ दिन चाहन्थे । फेरि एकपटक आफूलाई प्रमाणित गर्नु थियो उनलाई । उनी त्यसमा सफल भएका छन् ।

त्यसो त सन्दीपको घाँटीमा अझै पनि बलात्कार मुद्दाको तरवार झुण्डिरहेको छ । मुद्दाको अन्तिम फैसला नहुञ्जेल उनी आरोपमुक्त हुने छैनन् । तर, अदालतले दोषी नठहर्‍याउँदै उनलाई अपराधीको रुपमा चित्रित गर्ने र घृणा फैलाउने जुन कोसिस भइरहेको थियो, त्यो चाहिँ नाकामयाब भएको छ ।

यसबीचमा क्रिकेट संघले उनीप्रति एउटा अभिभावकको भूमिका निभायो भने क्रिकेट समर्थहरुले उनलाई निरन्तर समर्थन र हौसला दिए । क्रिकेट टीमका सबै सदस्यहरुले उनलाई कुनै फरक व्यवहार नगरी न्यानो साथ दिए । यो सबैको प्रतिफलस्वरुप सन्दीप आफूलाई मैदानमा दह्रोसँग उभ्याएर पहिलेभन्दा पनि खतरनाक ढंगले विपक्षीहरुमाथि हावी भइरहेका छन् ।

सर्वोच्च अदालत र पाटन उच्च अदालतका न्यायाधीसहरुप्रति पनि सन्दीप अनुग्रहित रहनेछन्, जसले उनको मुद्दामा बाह्य दबाबमा नपरी मुद्दा निर्भिक र निष्पक्ष ढंगले न्याय सम्पादन गरिरहेका छन् ।

सन्दीपले नेपाली क्रिकेटमा अझै धेरै योगदान दिन बाँकी छ । तर, विचाराधीन मुद्दामा उनी निर्दोष ठहरिएलान् त ? सबै क्रिकेट समर्थक र सन्दीपका शुभेच्छुकहरुको यही चासो छ । यदि उनले गल्ती गरेको ठहरिए कानूनबमोजिम सजाय भोग्नु नै पर्छ । तर, यदि निर्दोष पाइए भने त्यो उनको मात्र नभएर नेपाली क्रिकेटकै लागि ठूलो सन्तोषको विषय हुनेछ ।

Comments are closed.