आफ्नो देशका व्यवसायी विस्थापित गर्न चौधरीको षड्यन्त्र, अरबौंको व्यवसाय हत्याउन भारतमा नजराना

नेपाल यात्रा न्यू

काठमाडौं । विभिन्न वैध तथा अवैध व्यवसाय मार्फत आर्जेको मुनाफाबाट राज्यलाई कर छली गर्ने गरेको आरोपसमेत खेप्दै आएका नेपाली कांग्रेसका सांसद तथा अरबपति व्यापारी बिनोद चौधरीमाथि नेपालकै व्यवसायीलाई विस्थापित गर्न खतरनाक खड्यन्त्र गरेको आरोप लागेको छ । व्यवसायिक वा विभिन्न माध्यमबाट आर्जेको मुनाफा बापतको राज्यलाई तिर्नुपर्ने कर तथा राजस्व छलि गर्न तथा आफ्नो अवैध कारोबारका बारेमा मुख खोल्नेहरुलाई शक्तिले पेल्न राजनीतिमा लागेका चौधरीले लामो समयदेखि नेपालको घराना कम्पनी ज्योति समूह अन्तर्गत रहेको नेपाल जनरल मार्केटिङ र भारतीय कम्पनी मोटो कर्पबीचको सहकार्य तोडाएर आफूले कब्जामा लिएका हुन् । विश्व बजारमा हिरो मोटर साइकल, स्कुटर र यसका सबै पार्टपुर्जालगायत आफ्ना उत्पादन दिँदै आएको भारतीय कम्पनी मोटो कर्प र ज्योति समूह अन्तर्गतको नेपाल जनरल मार्केटिङबीच सन् २०२७ सम्मको सम्झौता तोड्न भए भरको शक्ति तथा धनसमेत खर्चिएपछि नेपालका दुई व्यवसायिक घरानाबीच चर्किएको विवाद अहिले सतहमा आएको छ । चौधरीले राजनीतिक र आर्थिक पहुँचका भरमा मोटो कर्पसँगको व्यवसायिक साझेदारी तोडाएपछि भारतीय अदालत तथा काठमाडौं जिल्ला अदालतमा यो मुद्धा विचाराधीन अवस्थामा रहेको छ ।

नेपालसहित विदेशका विभिन्न ठाउँमासमेत व्यवसायिक उद्योगहरु स्थापना गरेका चौधरीको सम्बन्ध भारतका विभिन्न राजनीतिक शक्ति र व्यापारीहरुसँगसमेत रहेको छ । उनले त्यही सम्बन्धको फाइदा उठाएर बेइमानी गरी ज्योति समूहलाई वार्षिक अरबौंको व्यापारबाट पछि हट्न वाध्य पारेका छन् । चौधरीको दबाबमा मोटो कर्पले एकतर्फी रुपमा बिना कारण करार सम्झौता भंग गरेपछि आफूले प्रचलित कानून बमोजिम न्याय पाउनु पर्ने दाबी गर्दै ज्योति समूहले न्यायालय गुहारेको छ । सिजी ग्रुपका नाममा व्यवसाय विस्तार गरिरहेका चौधरीले ज्योति समूहको व्यवसाय चौपट बनाउन सिजी मोटर्समार्फत भारतीय कम्पनीसँग सम्झौता गरेका छन् । बाँसबारी छालाजुत्ता कारखानाको आरोप लागेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिनोद चौधरीले बयानसमेत दिनु परेको थियो भने उनका भाइ अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । पहुँच र शक्तिका आडमा उन्मुक्ति पाएका बिनोद तथा अरुणसहित चौधरी धरानाका सदस्यहरुले अनियमितता गरेको भन्दै सदनदेखि सडकसम्म आवाज उठ्ने गरेको छ । यद्यपी, उनीहरुले शंकास्पद रुपमा आर्जन गरेको शक्तिको दुरुपयोग गरी नेपाली व्यवसायीलाई सताउने गरेका छन् । चौधरी समूहका सदस्यहरुको यस्तो षड्यन्त्रको शिकार ज्याति समूह बनेको छ । चौधरी समूहको स्तरमा नपुगे पनि ज्योति समूह पनि नेपालको प्रतिष्ठित व्यवसायिक घराना हो । तर सबै क्षेत्रमा चतुर बनेर लागि पर्ने चौधरीले विभिन्न शक्ति समूहसँग कुम जोडेर आफूलाई दुख दिएको ज्योति समूहका सदस्यहरुको गुनासो रहेको छ ।

हाल अदालतमा मुद्धा विचाराधिन रहेको र न्यायालयप्रतिको भरोसामा आफूहरु रहेको भएता पनि शक्तिकै भरमा मोटोकर्पसँगको सहकार्यमा फेरि जोडिन नदिने धम्की आफूहरुलाई चौधरी समूहबाट आउने गरेको ती सदस्यको दुखेसो छ । चौधरीले चर्को रकम खर्चिएर खटाएका दर्जनौं संख्यामा रहेका कानून व्यवसायीहरुले अदालतभन्दा बाहिर हुँदासमेत अनावश्यक दबाब र धम्की दिने तथा अदालतमै पनि ठूलो समूह बनाएर हुलहुज्जतका साथ प्रवेश गरी मनोवैज्ञानिक रुपमा समेत मुद्धालाई प्रभाव पार्ने काम गरिरहेको पीडितले बताए । भारतको प्रख्यात कम्पनीसँगको सम्झौतासमेत भंग गराउन सकेको र नेपालका जुनसुकै शक्तिलाई पनि झुकाउन आफ ू सक्षम रहेको भन्दै आफूलाई मानसिक दबाब चौधरीको तर्फबाट आउने गरेको उनले बताए । समाचारमा नाम उल्लेख गर्नसमेत डराएका उनले हिरो मोटो कर्प लिमिटेडको नेपालको कारोबार हेर्ने गरेका प्रविन साहसँग मिलेर भारतमा ठूलो रकम खर्चिएको प्रमाण आफूले पाएको दाबी गरे । उक्त कम्पनीसँगको नेपालको साझेदारीमा अभिक ज्योति र सुरुची ज्योतिले सम्झौता गरेका थिए । हाल भने सिजी ग्रुपकी निर्भाना चौधरीले सम्झौता गरेकी छिन् ।