काठमाडौं । रामचन्द्र पौडेलले राष्ट्रपतिको सपथग्रहण गर्ने र विद्यादेवी भण्डारी निवर्तमान बनेर शीतल निवासबाट बाहिरिने दिन अर्थात फागुन २८ गते विहान ऋषि धमलाले रेडियोमा पालैपालो दुई सत्ताधारी नेताको अन्तर्वार्ता लिए ।
नेपाली बहस कार्यक्रममा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेपाली कांग्रेसका नेता रमेश रिजालसँगको अन्तर्वार्ताका क्रममा धमलाले एउटा साझा प्रश्न सोधे- राष्ट्रपतिका रूपमा विद्या भण्डारीको कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ ? एक, दुई, तीनमा भन्नुस् ।
माओवादी महासचिव गुरुङले केही राजनीतिक विषयमा आफू विगतमा आबद्ध पार्टीको दबाबमा परेर काम गरे पनि समग्रमा उहाँको भूमिका गणतन्त्र संस्थागत गर्न सकारात्मक रहेको बताए ।
उनले भने- विशेषगरी राष्ट्रिय स्वाधीनताको रक्षा, महिला तथा सीमान्तकृतहरूको मुद्दामा उहाँको भूमिका अभिभावकीय र देशभक्तिपूर्ण रह्यो । (सम्भवतः उनले नागरिकता विधेयक र चीनसँगको सघन सम्बन्धलगायतका विषयमा भनेको हुनुपर्छ)गुरुङपछि आएका कांग्रेस नेता रिजालले राष्ट्रपतिका रूपमा विद्या भण्डारीले एउटा पनि राम्रो काम नगरेको र लोकतन्त्रको मासेको आरोप लगाए । उनले विद्या भण्डारी पार्टीको गोटीमात्र बनेको भन्दै रामवरण यादवले ऐतिहासिक काम गरेको र अब रामचन्द्रबाट त झनै ऐतिहासिक तथा पुरातात्विक महत्वकै काम हुने आशय व्यक्त गरे ।
विभाजित समाजका विभाजित मत
ऋषि धमलाको यो अन्तर्वार्ताको प्रसंग किन जोडिएको हो भने, कुनै पनि घटनाक्रम वा व्यक्तिको योगदानको विषयलाई मूल्यांकन गर्ने आफ्नो राजनीतिक वा वर्ग पक्षधरताका आधारमा हो मान्छेले । एउटै राजनीतिक मिसनमा रहेका देव गुरुङ र रमेश रिजालबीच विद्या भण्डारीको योगदानको मूल्यांकन गर्दा समान धारणा पाइँदैन भने विभाजित समाजमा सबैको साझा बन्न कोही पनि सक्दैन ।
देव गुरुङको नजरमा देशभक्त र सामाजिक न्यायको पक्षमा काम गरेको देखिने विद्या भण्डारी रमेश रिजालको नजरमा असफल र अलोकप्रिय पात्र देखिनुले नेपाली समाजको चरित्र निर्धारण गर्छ । त्यसैले शीतल निवासमा विद्या भण्डारीका सात वर्षको मूल्यांकन गर्ने सन्दर्भमा पनि नेपाली समाज यति धेरै विभाजित छ कि, कसैको चित्त बुझाउने गरी मूल्यांकन गर्न असम्भव प्रायः छ ।
यति चाहिँ भन्न सकिन्छ कि,नेपालको राजनीतिक इतिहासमै सबैभन्दा उच्च संवैधानिक पदमा पुग्ने पहिलो महिला विद्यादेवी भण्डारीले विश्व मञ्चमै शक्तिशाली महिलाको टप लिस्टमा नेपालको नाम राखेकै हो । विद्या भण्डारीले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा उभिँदा नेपालको शीर गर्वले ठाडो भएकै हो र राष्ट्रपतिको रूपमा विद्या भण्डारीको भूमिकाकै कारण यसपटक त्यो पद राजनीतिक दलहरूका लागि प्रतिष्ठाको विषय बनेकै हो ।
एउटा व्यक्ति र उसको भूमिकाले कतिपय आलंकारिक वा संवैधानिक पदहरूको पनि महत्व निकै बढ्छ र त्यसलाई राजनीतिक शक्तिहरूले कार्यकारी भूमिकाको रूपमा जीवन मरणको सवाल बनाउँछन् । विद्या भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको कुर्सीमा बसेर गरेका काम र निर्वाह गरेको भूमिकाका बारेमा दलहरूका फरक धारणा होलान, समाजमा फरक फरक मूल्यांकन होलान् तर उनले त्यो पदको गरिमा बढाएर शीतल निवासबाट बिदा भएकी छन् ।
विद्या भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा गरेको संसद विघटनलाई असंवैधानिक भनेर दुई-दुईपटक सर्वोच्चमा अदालतदेखि माइतीघरको सडकमा पुगेका प्रचण्डलाई समेत दौरा सुरूवाल लगाएर सपथग्रहण गराउने सफलता विद्या भण्डारीले नै प्राप्त गरिन् । प्रचण्डको रूपान्तरणमा विद्या भण्डारीको पनि भूमिका थियो भन्ने कुरा स्वयं उनले संसदमै उभिएर राष्ट्रपति र एमाले अध्यक्षलगायतको चाहना भनेर पुष्टि गरेका छन् ।
अब राष्ट्रपतिको रूपमा विद्या भण्डारीले गरेका काम र त्यसको आलोचनाका सन्दर्भको सामान्य चर्चा गरौं ।
१. संसद विघटनमा राष्ट्रपतिको भूमिका
विद्या भण्डारीमाथि उनका विरोधी राजनीतिक दल र सदावहार विरोधी ‘बौद्धिक जमात तथा नागरिक आन्दोलन’का नाममा नेपालको एउटा निश्चित वर्गको प्रतिनिधित्व र उनीहरूको लागि विचार निर्माण गर्ने समूहले लगाउँने गरेको आरोप भनेको असंवैधानिक संसद विघटन गरिन् भन्ने हो ।
पहिलो कुरा संसद विघटन संवैधानिक वा असंवैधानिक भन्ने निर्क्यौल अदालतले गर्ने हो र त्यो गरिसकेको छ । संविधानले राष्ट्रपतिलाई सरकारका सिफारिस कार्यन्वयन गर्नेभन्दा बढी अधिकार दिएको छैन । यति हो कि राष्ट्रपतिले संसदबाट पारित भएर गएको विधेयक पुनःविचार गर्न फर्काउन सक्नेसम्मको अधिकार छ ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर पठाएपछि संसद विघटन सदर गर्नुको विकल्प राष्ट्रपतिसँग थिएन र हुन्न । यति हो कि, संसद विघटनको सिफारिस आइसकेपछि यसको संवैधानिक र राजनीतिक वैधताबारे सरोकारवालाहरूलाई एकैठाउँमा राखेर छलफल गरेको भए त्यसले संवैधानिक मान्यता नपाए पनि राजनीतिक मान्यता पाउने थियो ।
२. नारी उत्थान, हजारौं सुत्केरी र शिशुको जीवनरक्षक
राष्ट्रपति निर्वाचित भइसकेपछि विद्यादेवी भण्डारीले तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई शीतल निवास बोलाएर सुत्केरी व्यथाबाट अकाल मृत्युवरण गर्ने आमा र शिशुको जीवनरक्षका लागि विशेष प्याकेजको प्रस्ताव गरेकी थिइन् । विशेषगरी दुर्गम ग्रामीण क्षेत्रका महिलाको हवाई उद्धारका लागि नारी उत्थान कार्यक्रममार्फत विशेष कार्यक्रम घोषणा गर्न लगाइयो । राष्ट्रपति नारी उत्थान कार्यक्रम लागू भएपछि ग्रामीण क्षेत्रमा हजारौं महिलाको जीवन रक्षा भएको छ ।
यद्यपि सरकारले सुत्केरी महिलाको उद्दारका लागि हेलिकप्टर व्यवस्था गर्दा विद्या भण्डारीलाई निजी प्रयोजनमा हेलिकप्टर किन्न लागिएको आरोप कतिपय मूलधारकै मिडिया र ‘ह्वाइट कलर अभियन्ता, बुद्धिजीवि र कमलपोखरीको माटोको टीका लगाउने नागरिक आन्दोलनकारीहरूबाट उनले खेप्नुपरेको थियो ।
३. कोभिडविरुद्ध विश्व संवाद र खोप पहल
राष्ट्रपतिको रूपमा अभिभावकीय भूमिका विद्यादेवी भण्डारीबाट कोभिड महामारीको बेला प्रकटरूपमा निर्वाह भएको थियो । विश्व अक्रान्त भएका बेला भण्डारीले राष्ट्र प्रमुखको हैसियतमा विश्वका शीर्षस्थ नेताहरूसँग टेलिफोन संवाद गरेर नेपाललाई सहयोगको आह्वान गरेकी थिइन् ।
राजा वीरेन्द्रपछिको चीनको उच्चस्तरीय भ्रमण विद्या भण्डारीकै कारण सम्भव भएको थियो । सी जिनपिङले नेपालको भरोसा गर्ने नेताको भूमिका रहेकी विद्या भण्डारीले व्यक्तिगत तवरमै टेलिफोन र इमेल संवादपछि नेपाललाई चीनबाट निःशुल्क खोप दिलाएको अभिभावकीय भूमिकालाई बिर्सन सकिन्न ।
राष्ट्रपतिले सोही समयमा रुस र भारतका राष्ट्रपतिसँग संवाद गरेकी थिइन् । यद्यपि रुसबाट खोप ल्याउन त्यसपछिको सरकार नै इच्छुक नरहेको त्यहाँका राजदूतले सम्पादकहरूसँग बताएका थिए ।
४. विश्व मञ्चमा नेपालको गर्विलो उपस्थिति
जतिबेला अमेरिकाजस्तो देशमा पहिलोपटक महिला राष्ट्रपति जिताउने मौकालाई अमेरिकीहरूले अश्वीकार गर्दै हिलारी क्लिन्टनको साटो डोनाल्ड ट्रम्पलाई जिताएका थिए, त्यति नै बेला नेपालले महिलालाई राष्ट्रपति निर्वाचित गरेको थियो ।
छोरीलाई पैतृक सम्पत्तिमा समान हकको कानून बनाउनेदेखि महिलाको ३३ प्रतिशत हक कानूनमा व्यवस्था गराउने अभियानको नेतृत्व गरेकी विद्या भण्डारी राष्ट्रपति बन्दा विश्वभर ठूलो न्युज बनेको थियो । भण्डारीले राष्ट्रसंघलगायत विभिन्न साझा अन्तर्राष्ट्रिय मञ्चमा उभिएर गरेका सम्बोधन र लबिइङले नेपालको त्यहाँ गर्विलो उपस्थिति बनेकै हो ।
एन्जेला मर्केलहरूकै हाराहारीको विश्वकै शक्तिसाली महिला नेताको सूचीमा नेपालको राष्ट्रपति विद्या भण्डारी पर्नु नेपालको लागि गौरवको कुरा हो । हरेक विषयमा नकारात्मक चिन्तन र लघुताभास राख्ने जमातले त विश्व मञ्चमा नेपालको राष्ट्रपतिको गर्विलो उपस्थितिलाई पनि खिसिटिउरी नै गर्छ ।
तर, वास्तवमै विश्व मञ्चमा नेपालको प्रभावशाली उपस्थिति विद्या भण्डारीका कारण भएकै हो । यसका साथै जलवायु परिवर्तनविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान र देशभित्रै पनि सरकारलाई पटकपटक यस्ता विषयमा घच्घच्याउने काम उनले गरेकै हुन् ।
५ सनातन धर्म संस्कृति र सम्पदा संरक्षण
यसका साथै सनातन धर्म, संस्कृतिको रक्षा गर्ने संवैधानिक दायित्व राष्ट्रपतिको रूपमा विद्या भण्डारीबाट पूरा भएको छ । धार्मिक मठ मन्दिर र चैत्यहरूको भ्रमण, शक्तिपीठहरूको दर्शन र विशेषगरी हिन्दू तथा बौद्ध धार्मिक प्रतिष्ठानहरूको संरक्षणमा राष्ट्रपतिको रूपमा विद्या भण्डारीको अविष्मरणीय योगदान छ ।
यसका साथै हाम्रा सम्पदाहरूको संरक्षण तथा पुननिर्माणमा पनि सरकारलाई तथा सरोकारवालालाई बोलाएरै राष्ट्रपतिले निर्देशन दिने गरेकी थिइन् । संविधानले नै सनातन धर्मको संरक्षण गर्ने धर्म निरपेक्षताको व्याख्या गरेकाले राष्ट्रपतिबाट सो भूमिका निर्वाह भएको थियो ।
६. नागरिकता विधेयक फिर्ता
विद्या भण्डारीमाथि संगठित हमलाको लभभग अन्तिम अस्त्र थियो नागरिकता विधेयकलाई संसदमा फिर्ता पठाउने र दोस्रोपटक संसदले जस्ताको तस्तै पारित गरेर पठाएपछि त्यसलाई स्वीकृत नगर्ने कदम ।
निर्वाचनको बेला संसदबाट पारित भएको सो विधेयक राष्ट्रपतिले रोक्दा विद्या भण्डारी र एमालेमाथि समान आक्रमण भयो । मधेसमा एमाले पत्तासाफ गराउने भनेर सत्तागठबन्धनले चुनावी नारा बनायो पनि । तर, नागरिकता विधेयक रोकेको आरोप खेपेको एमाले मधेसको पहिलो दल बन्यो ।
महिला र देशको हितविरोधी नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिविरुद्ध ‘बौद्धिक जमात तथा नागरिक आन्दोलन’ का नाममा नेपालको एउटा निश्चित वर्गको प्रतिनिधित्व र उनीहरूको लागि विचार निर्माण गर्ने फण्डित समूहले विद्या भण्डारीमाथि संगठितरूपमै आक्रमण गरेको हो
एकै ठाउँबाट विद्या भण्डारीविरोधी कन्टेन्ट उत्पादन गर्ने र एकै भाका र लयका सम्पादकीयहरू सप्लाई भए । तर, ठूलो रिस्क मोलेर नागरिकता विधेयकमा राष्ट्रपतिले लोकरिझ्याइँ होइन देशको वृहत्तर हितको पक्ष लिएको हो । आज आएर देव गुरुङदेखि झलनाथ खनालसम्मका सत्तापक्षले पनि उनको कदमको समर्थन गरेका छन् ।
७. शीतल निवास सबैलाई खुला
विद्या भण्डारीको पालामा शीतल निवास सबैका लागि खुला रह्यो । बेचबिखनमा परेर उद्धार भएका किशोरीहरूदेखि राजगद्दी त्यागेर हिँडेका राजाले समेत शीतल निवासमा समान सम्मान पाए ।
काठमाडौंलगायत दुर्गमका जनप्रतिनिधिहरूले शीतल निवास पुगेर कठिनाइहरू सुनाउने र केन्द्र सरकारलाई दबाब दिलाउने मौका पाए । विभिन्न विषयका विज्ञहरूले पालैपालो शीतल निवास पुगेर सरकारले नसुनेका, थाहा नपाएका र तर आफूहरूसँग भएका योजना तथा उपायहरू सुनाउँथे ।
राष्ट्रपतिले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूलाई बोलाएर यस्ता विषयमा छलफल गर्ने परम्परा बसेको थियो । कुनै बेला विज्ञकै रूपमा राष्ट्रपतिसँग संवाद गर्न गएका बालेन शाहको तस्बिर मेयरको चुनावको बेला भाइरल नै भएको थियो ।
समग्रमा विद्या भण्डारीको ७ वर्षे कार्यकाल सफलमात्र होइन नेपाल र नेपालीले भविष्यमा पनि गर्व गर्ने र अध्येताहरूले धेरै विषयमा अध्ययन गर्ने विषयका रूपमा स्थापित भएको छ । फेरि पनि नेपाली समाज विभाजित छ र राष्ट्रपतिका रूपमा विद्या भण्डारीको भूमिका पनि सोही अनुसार मूल्यांकन हुनेछ ।
राष्ट्रपतिको रूपमा संवैधानिक भूमिका निर्वाह गर्दा विद्या भण्डारीले पटकपटक अपमानित र लाञ्छिता हुनुपर्यो । लामो समय एउटै आन्दोलनमा हिँडेका सहयोद्धाहरूदेखि विपरीत वर्गचरित्रका सम्भ्रान्त महिलावादीहरूको नारीद्वेषी आरोप र पेशेवर घृणा फैलाउने जमातको अनगिन्ति आक्रमण झेलेर पनि प्रतिक्रियात्मक नहुनु उनको अभिभावकीय गुण थियो ।
आधारभूत वर्गका जनताको जीवनस्तर उकास्नेदेखि समग्र मानवीय र भौतिक विकासका लागि राष्ट्रपतिका रूपमा विद्या भण्डारीमा धेरै हुटहुटी देखेका थिए मन्त्री र विज्ञहरूले । तर, विश्लेषक झलक सुवेदीले भनेजस्तै नेपालमो समग्र भौतिक र मानवीय विकासप्रतिको राष्ट्रपतिको रूपमा विद्या भण्डारीका चासो, ज्ञान र तत्परताको नागरिक समाजले अन्डरइस्टिमेट गरेकै हो ।
विद्या भण्डारीले शीतल निवासबाट बाहिरिँदै गर्दा सरकारी अवास सुविधा नखोजेर आफ्नै घरमा फर्किने भन्दा पनि जनताले वाहवाही गरेका छन् । अब राष्ट्रपतिबाट बाहिरिएपछि कुनै पनि अतिरिक्त सरकारी सुविधा नलिने र राज्यको ढुकुटीमा पटकपटक आँखा गाड्ने काममात्र नगरे पनि ठूलो योगदान हुनेछ ।
आज नकारात्मक टिप्पणी गर्नेहरूले पाँच वर्षपछि बरु पहिलेकै विद्या भण्डारी धेरै ठीक भनेर सकारात्मक टिप्पणी गर्ने दिन आउनेछन् । किनकी नेपाली समाजले चाँडै बिर्सन्छ । बरु पहिलो राष्ट्रपति महिला भएजस्तै नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने मार्ग विद्या भण्डारीका लागि खुलेको छ ।
शीतल निवासबाट बाहिरिँदै गर्दा छोरी उषाकिरणले भनेजस्तै- तूफानलाई भनिदेऊ, हामीलाई किनारा मिल्यो अब फेरि ।