नर्सहरूलाई गालीगलौज नगर्न गिभिनाको अपिल, आफैँले गरिन् क्षमायाचना

काठमाडौं । बीपी कोइराला क्यान्सर अस्पतालमा सामाजिक अभियन्ता गिभिना मगर र नर्सहरूबीच उत्पन्न विवाद सुल्झिएको छ । गिभिनाले नर्सहरूसँग उनीहरूको भिडिओ सामाजिक सञ्जलमा पोस्ट गरेकोमा माफी मागेकी छन् ।

आफूले भावनामा बहकिएर ड्युटीमा रहेका नर्सहरूसँगको विवादको भिडिओ पोस्ट गरेकोमा गिभिनाले माफी मागेकी छन् । सामाजिक सञ्जालमा नर्सहरुमाथि भइरहेको गालीगलौजप्रति उनले दु:ख व्यक्त गरिन् ।

गिभिनाले भनेकी छन्, ‘नर्संहरूको आत्मसम्मानमा चोट पुगेको छ, तर मेरो त्यस्तो उद्देश्य थिएन । मान्छेबाटै गल्ती हुन्छ । म क्षमाप्रार्थी छु । आगामी दिनमा कसैले पनि नर्सहरूमाथि नकारात्मक गाली नगर्नुहोस् ।’

गत वैशाख २८ गते सो अस्पतालमा उपचाररत १६ वर्षीया बालिकालाई दिउँसो २ बजे दिनुपर्ने औषधि ४ बजे दिइएपछि विवाद भएको थियो । ४ बजे औषधि खुवाएर २ बजेकै रेकर्ड राख्न खोजिएपछि गिभिनाले आपत्ति जनाएकी थिइन् । गिभिनाले ति किशोरीलाई सहयोग जुटाएर उपचार गर्न सहयोग गरिरहेकी छन् ।

नर्सहरूसँग अस्पतालमा भएको विवादको भिडिओ खिचेर उनले टिकटकमा पोस्ट गरिन् । त्यसलाई लिएर सामाजिक सञ्जालमा नर्सहरुमाथि गालीगलौजको वर्षा भइरहेको थियो । प्रशासनको अनुमति भिडीओ खिचेर हालेको भन्दै नर्सहरूले आपत्ति जनाएका थिए ।

सामाजिक सञ्जालमा भइरहेको गालीगलौजलाई लिएर काठमाडौंमा समेत नर्सहरूले प्रदर्शन गर्दै आएका छन् । सबैभन्दा बढी साधना चाहने पेशा तर कम पारिश्रमिकमा काम गरिरहेका नर्सहरूको बदनाम गरिएको गुनासो उनीहरूले गरेका छन् ।

यसैबीच धेरैले रिपोर्ट गरेपछि गिभिनाको १४ लाख फलोअर्स भएको टिकटक आइडी प्रतिबन्धित भएको छ ।

त्यस्तै, जो नर्सले समय तालिकामा परिवर्तन गरेको भन्दै विवाद उत्पन्न भएको थियो विष्णु बोहोराले पनि आफूले त्यसबेला ठूलो स्वर गरेको स्वीकार गरिन् । उनले पनि आफ्नो बोलीको कारणले बिरामीहरुमा पर्न गएको असरप्रति माफ मागिन् ।

तर आफूले त्यसबेला पनि गिभिनालाई सम्झाउन खोजेको तर उनी नमानेको बताइन् । त्यस्तै, गिभिना समाजसेवी रहेको आफूलाई थाहा नभएको तर आफूले

गिभिनाले अस्पतालमै नर्स तथा अन्य बिरामी कुरुवाहरुको सामुन्ने माफी मागेकी हुन् ।

उनको भनाइ यस्तो थियोः

सबैभन्दा पहिले जुन घटना घटेको छ, त्यसले सबैलाई दुःखी बनाएको छ । अरुलाई दुःखी बनाउने मेरो उद्देश्य थिएन । म पनि सामान्य एउटा सामान्य घरपरिवारको छोरी हो । यहाँनेर सानो बुनु अर्चनालाई नयाँ जीवन दिन्छु भन्ने सोचले आएको थिएँ । यहाँनेर मैले नसोचेको घटना घट्यो जुन घट्नु हुँदैन थियो ।

भरतपुर क्यान्सर हस्पिटलमा उपचार हुँदै गर्दा त्यहाँनेर म्याम र मेरो अलिकति समस्या उब्जेको थियो । हामीबीच अलिकति असमझदारी भएको थियो । म अलिकति भावनामा डुबेँ । औषधि दिने कुरामा टाइमको फरक परेपछि समस्या उत्पन्न भएको थियो । सबै कुरा मलाई जानकारी नभएको कारणले मैले बिरामीलाई असर पर्ला भनेर उहाँ (नर्स)लाई सोधेको थिएँ ।

मान्छेबाटै भूल हुन्छ । मबाट पनि भूल भएको छ । यही भूलले गर्दा धेरैजना जो नर्सिङ पेशामा जो आवद्ध हुनुहुन्छ, उहाँहरुलाई धेरै समस्या आएको छ । त्यो चाहिँ मेरो उद्देश्य र चाहना थिएन । म नानुलाई बचाउँछु भन्ने सोच मात्रै लिएर आएको थिएँ । तर एक्कासी थाहा नपाइ यो घटना घट्न पुग्यो । यसबाट जति पनि नर्सिङ पेशामा आवद्ध हुनुहुन्छ, उहाँहरुको चरित्र हत्या भएको छ । र, तथानाम गाली पनि गरिएको छ । उहाँहरुलाई चोट पुगेको छ ।

मैले यो चाहेको थिइनँ । म आफैं पनि फ्लोरेन्स नाइटिङ्गेलबाट प्रभावित भएको थिएँ । त्यसैले समाजसेवामा लागेको हुँ । म आफैंलाई पनि नर्स बन्न मन थियो । तर मेरो आर्थिक अभावले गर्दा त्यो समयमा मैले पढ्न नपाएको हो । अहिले मैले जानेर वा नजानेर भएको भूलले गर्दा सम्पूर्ण नर्सहरुलाई समस्या आएको, उहाँहरुको काम, पेशाप्रति नै विभिन्न प्रश्न उठेकोले मलाई दुःखी बनाएको छ । त्यही कारणले उहाँहरुले यो दुःख भोग्न नपरोस् । आगामी दिनहरुमा उहाँहरुले गरिरहेको यो पेशामा प्रश्न नउठोस् । र फेरि पनि यो समस्याको सिर्जना नहोस् ।

मान्छेलाई जन्मदिने बचाउने भगवानपछि डाक्टर-नर्सहरु हुनुहुन्छ । त्यसैले, कसैले पनि डाक्टर नर्सहरुलाई नकारात्मक रुपमा नलिइदिनु होला । किनभने हामीलाई गाह्रो भयो भने, बिरामी भइयो भने जाने भनेकै हस्पिटल हो । परिस्थितिले यो मोड लियो । जुन गल्ती मबाट भयो, आगामी दिनमा हुने छैन । फेरि पनि म सबैजनालाई दुई हात जोडेर अनुरोध गर्छु । जुन तथानाम गाली भएको छ, उहाँहरुको पेशामा विभिन्न खालको प्रश्नहरु उठेको छ, यो कसैले पनि नगरिदिनु होला । कसैलाई दुःख दिनु, कसैको मनमा चोट पुर्याउनु पनि एक किसिमको पाप नै हो । त्यसैले मबाट यस्तो खालको पाप नहोस् । र हजुरहरुबाट पनि यस्तो खालको पाप नहोस् ।

जति जनाको मन दुखाएको छु र नर्सिङ पेशामा आवद्ध जति हुनुहुन्छ, उहाँहरुको चरित्रमा जुन दाग लाग्ने काम भएको छ यसको लागि म क्षमा माग्दै हजुरहरु सबैजनालाई अनुरोध गर्छु नर्सिङ पेशालाई सम्मान गर्नुस् । भरतपुर अस्पतालमा बिरामीहरु सञ्चो हुने आशले आउने गर्नुहुन्छ । त्यसैले यसप्रति जुन भ्रमहरु फैलिएको छ, त्यो भ्रमहरु नफैलिओस् । म यही कामना गर्छु । म सबै जनालाई यही अनुरोध गर्छु कि आगामी दिनहरुमा तथानाम गाली गर्ने, अनेकथरी भन्ने समस्या नहोस् । मबाट नै सुरुवात भएको थियो । मबाट नै माफी माग्दै अन्त्य होस् ।