३० फागुन
२०३५ सालमा भूमिगत रूपमा गठित ‘नेपाल कम्युनिष्ट पार्टी माले’ को स्थापनासँगै उहाँ त्यससित सम्बन्धित हुनुभयो । केही समयपछि भूमिगत ‘माले’ सम्बद्ध ‘युथ लिग’ मा संगठित हुन पुग्नुभएको उहाँले क्रान्तिकारी संगठनभित्रको यात्रा प्रारम्भ गर्नुभएको थियो । यही यात्रालाई अगाडि बढाउने क्रममा २०३६ सालमा त्यही पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । तत्कालीन ‘माले’ ले विभिन्न वर्ग, पेशा र समुदायभित्र आफ्नो राजनीति र संगठन विस्तार गर्ने क्रममा ‘अखिल नेपाल महिला संघ’ लाई २०३७ सालमा पुनर्गठन गरेको थियो । उहाँले २०३७ सालमै यही पुनर्गठित ‘महिला संघ’ को सदस्यता लिनुभएको थियो ।
पछि विराटनगरस्थित महेन्द्र मोरङ कलेजमा स्नातक तहमा अध्ययन गर्न थाल्नुभएको उहाँले विद्यार्थी गतिविधिमा आफूलाई लगाइरहनुभयो र यसै क्रममा त्यहाँको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सर्वाधिक मत प्राप्त गरी कोषाध्यक्ष बन्नुभयो र अनेरास्ववियू पूर्वाञ्चल कमिटीको पनि कोषाध्यक्ष बन्नुभयो । त्यतिमात्र नभएर त्यसवेला विराटनगरको भूमिगत रूपले गठित नगरस्तरीय पार्टी कमिटीमा समेत संगठित भएर गतिविधिमा लाग्नुभयो । यही क्रममा २०३९ सालमा मदन भण्डारीसित बैबाहिक बन्धनमा बाँधिनुभयो ।
२०५० साल जेठ ३ गते रहस्यमय सडक दुर्घटनामा भएको मदनको मृत्यु र त्यस घटनाले पार्टीभित्र र उहाँको निजी जीवनमा सिर्जना गरेको अत्यासलाग्दो अवस्थासित जुद्धै पार्टी, जनप्रतिनिधि संस्था र राज्य सञ्चालनमा महत्वपूर्ण जिम्मेवारी लिँदै फागुन २९ गते दोस्रो पटक राष्ट्राध्यक्षको महत्वपूर्ण जिम्मेवारीलाई योग्यतापूर्वक पूरा गर्दै अगाडि बढिरहनुभएको छ ।
अत्यन्त होसियारीपूर्वक अपनाइएको कार्यशैलीका कारण हाम्रो संगठन र हामीहरू सबै अगाडि बढिरहेका थियौं । यिनै अभियानमा जुटिरहेका वेला मैले पहिलोपटक विद्या भण्डारीलाई २०३७ सालको साउन/भदौतिर भेटेको हुँ ।
आफ्नो जीवनकालमा महत्वपूर्ण आयामहरू- विद्यार्थी आन्दोलनको अग्रणी, महिला अधिकारको सक्रिय अभियन्ता, कम्युनिष्ट पार्टीको प्रतिबद्ध कार्यकर्ता तथा नेता, जननिर्वाचित प्रतिनिधि र राज्यको महत्वपूर्ण पदमा रही भूमिका पूरा गर्नुहुने विद्यादेवी भण्डारीका बहुआयामिक भूमिका र पार्टी तथा सामाजिक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिकालाई समग्रमा बुझ्नु जरूरी छ ।
भूमिगत राजनीतिक गतिविधिमा संलग्न
‘को-अर्डिनेशन केन्द्र’ (२०३२ साल) हुँदै गठन भएको ‘नेकपा माले’ (२०३५ साल) त्यसवेला नेपालको राजनीतिमा ‘उदीयमान शक्ति’ एवं ‘तेस्रो शक्ति’को रूपमा चर्चित बन्यो । यस्तो शक्ति त्यसवेलाको शासन सत्ता उल्टाउने उद्देश्य लिई संगठित शक्ति र त्यसैकारण राज्यको नजरमा ‘अवैधानिक शक्ति’ थियो । उसको त्यही घोषित उद्देश्य र राज्यको कठोर र अनुदारवादी दृष्टिकोणका कारण त्यो पार्टीले कडा भूमिगत अवस्थामा काम गर्नुपरेको थियो । यसका नेता तथा कार्यकर्ताहरू या वारेन्टेड भएर भूमिगत अवस्थामा काम गरिरहेका थिए, या निर्वासित हुन बाध्य पारिएका थिए या त खुलै रहेर घरपरिवारसितै रहे पनि सत्ताको नजरबाट जोगिएर काम गरिरहेका हुन्थे । अत्यन्त जोखिमको अवस्था थियो ।
तर, त्यही जोखिमको अवस्थासित पौंठेजोरी खेल्दै कम्युनिष्ट क्रान्तिकारीहरू भने संगठित भइरहेका थिए । त्यसैकारण त्यसवेला परिवर्तनको अभियानमा नयाँ उत्साह र ऊर्जाको विस्तार भइरहेको थियो । त्यसवेला म त्यही अभियानको एउटा जिम्मेवार सदस्यको हैसियतले काम गरिरहेको थिएँ । यही हैसियतमा म आफ्नो परिभाषित कार्यक्षेत्रमा क्रियाशील थिएँ । म खासगरी नेपालको मध्यपूर्वी क्षेत्रको तराई-मधेसतिर विशेष केन्द्रित थिएँ अर्थात् मेरो कार्यक्षेत्र त्यही नै थियो । यो क्षेत्रमा मैले आफ्ना गतिविधिहरू बढाइरहँदा विशेष शैलीका साथ आफूलाई क्रियाशील बनाउन आवश्यक पर्थ्यो । अत्यन्त होसियारीपूर्वक अपनाइएको कार्यशैलीका कारण हाम्रो संगठन र हामीहरू सबै अगाडि बढिरहेका थियौं । यिनै अभियानमा जुटिरहेका वेला मैले पहिलोपटक विद्या भण्डारीलाई २०३७ सालको साउन/भदौतिर भेटेको हुँ ।
विद्या भण्डारी त्यसवेला महेन्द्र मोरङ कलेज विराटनगरमा स्नातक तहमा अध्ययन गरिरहनुभएको थियो । उहाँ अनेरास्ववियूको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विजय प्राप्त गर्नुहुने कोषाध्यक्ष र पूर्वाञ्चलको एकजना अगुवा विद्यार्थी नेता बनिसक्नुभएको थियो । त्यसवेला अनेरास्ववियू भूमिगत रूपमा सक्रिय नेकपा मालेको खुला आवरणमा काम गर्ने सशक्त संगठन थियो । मैले केही पछि मात्र थाहा पाएँ- विद्याजी भूमिगत पार्टीको स्थानीय नगरमा संगठित भएर काम गरिरहनुभएको थियो । यो २०३८/०३९ सालको कुरा हो ।
विद्याजी देख्दा जति सुन्दर लाग्नुहुन्थ्यो- त्यति नै विचारमा दृढ़ र प्रस्तुति अत्यन्त सुन्दर थियो । आफ्ना कुरा अत्यन्त मसिनो तर सुन्दर तरिकाले प्रस्तुत गर्नुहुन्थ्यो । त्यसवेला मैले मनमनै मूल्यांकन गरेको थिएँ- पार्टीभित्र अत्यन्त उज्ज्वल सम्भावना बोकेको युवा महिला ! त्यसैछेका केही दिनदेखि राजविराजका एकजना स्थानीय समर्थक (उद्धव पौडेल ?) को घरमा, बिमारी भई मैले आश्रय लिइरहेको थिएँ, त्यहाँ मेरो अवस्था अत्यन्त शिथिल बनिसकेको थियो । त्यस्तो अवस्थामा मलाई भेट्न होसियारीपूर्वक उक्त सेल्टरमा विद्याजी पुग्नुभएको थियो । उहाँ आफ्नो पूर्वाञ्चल कार्यक्षेत्रअन्तर्गत सांगठनिक कामहरूको सिलसिलामा त्यहाँ पुग्नुभएको थियो । मैले त्यसवेला सकिनसकी उहाँसित केही कुरा गरेको थिएँ । त्यसवेला उहाँले गर्नुभएको स्नेहपूर्ण संवादलाई अहिले पनि सम्झिरहेको छु ।
भूमिगत पार्टीको संगठनात्मक संरचनामा त्यसवेला हामी ‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’ मा संगठित थियौं जसअन्तर्गत तात्कालिन कोशी अञ्चलमा केन्द्रित रहेर मदन भण्डारी काम गरिरहनुभएको थियो । मदन भण्डारी, माधव नेपाल, मुकुन्द नेउपाने र मलगायतका साथीहरू त्यो नेतृत्वदायी कमिटीमा थियौं ।
मदन भण्डारीसितको वैवाहिक बन्धन
भूमिगत पार्टीको संगठनात्मक संरचनामा त्यसवेला हामी ‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’ मा संगठित थियौं जसअन्तर्गत तात्कालिन कोशी अञ्चलमा केन्द्रित रहेर मदन भण्डारी काम गरिरहनुभएको थियो । मदन भण्डारी, माधव नेपाल, मुकुन्द नेउपाने र मलगायतका साथीहरू त्यो नेतृत्वदायी कमिटीमा थियौं । हाम्रो आउजाउ भैरहन्थ्यो र हामीहरू पूर्व (विराटनगर) पुगिरहन्थ्यौं । त्यहाँ पुग्ने क्रममा अरू कार्यकर्ताहरूसँगै विद्याजीसित पनि देखभेट भैरहन्थ्यो । ती प्रत्येक भेटमा उहाँको उत्साह र क्रियाशीलतामा वृद्धि भइरहेको हामीलाई लाग्थ्यो । कार्यक्षेत्रमा रहेका धेरै झरझराउँदा-भरभराउँदा कार्यकर्ताहरूको पंक्तिमा विद्याजी देखिनुहुन्थ्यो ।
‘माले’ पार्टीमा आवद्ध र संगठित भएका युवा क्रान्तिकारीहरू विवाह बन्धनमा बाँधिने क्रम सुरू भएको थियो खासगरी २०३५/०३६ को आन्दोलनपछि । त्यो आन्दोलनले हामी क्रान्तिकारीहरूका पंक्तिमा रहेको जडतामा आधारित अव्यवहारिक पर्खालहरूलाई भत्काउन सुरू गरेको थियो र क्रान्तिकारी पंक्तिलाई व्यवहारिक ढंगले परिवर्तनको अभियानमा लाग्न प्रेरित गरेको थियो । निजी जीवनलाई व्यवहारिक ढंगले परिपक्व बनाउँदै अघि बढ्नुपर्ने स्थिति बनिरहेको थियो । यो परिवर्तनले ‘माले’ पंक्तिमा एउटा नयाँ किसिमको सगबगाहट पैदा हुँदै थियो । यसैक्रममा ‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’का सचिव अर्थात् प्रमुख मदन भण्डारी अर्थात् ‘कमरेड सागर’ को विद्या भण्डारीसित विवाहको कार्यक्रम आयोजना भएको थियो । त्यो विवाह स्थानीय साथीहरूको (क्षेत्रसित सम्बन्धित साथीहरूको) विशेष सक्रियता र व्यवस्थापनमा अझ उहाँहरूकै पहलमा सम्पन्न भएको थियो । हो, मदन र विद्याको चाहना, रूचि र रोजाइ त थियो नै । साथै उहाँहरू आफैंले सहमति र स्वीकृत गर्नुभएको विषय पनि थियो । हामीहरू त एउटै कमिटीका थियौं नै । त्यसकारणले त्यहाँ हाम्रो विशेष उपस्थिति हुने नै भयो । म र माधव नेपाल त्यहाँ पुगेका थियौं । माधव नेपाल प्रमुख अतिथि र मैले विवाह समारोहको अध्यक्षता गरेको थिएँ ।
बैबाहिक समारोह भूमिगत अवस्थामा विराटनगर शहरको दक्षिणी छेउमा अवस्थित एकजना पार्टी समर्थक साथी देवकोटाजीको डेरामा अत्यन्त सामान्य हिसाबले आयोजना गरिएको थियो । समारोहमा पार्टीका केही नेताहरू र मदनको परिवारका केही सदस्यहरूको उपस्थिति थियो । समारोहमा मदन र विद्याजीले विवाहपछि पनि आफ्नो दाम्पत्य जीवन जनता, क्रान्ति र पार्टीप्रति समर्पित रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यहाँ उपस्थित सबैले सफल दाम्पत्य जीवनका लागि शुभकामना व्यक्त गरेका थियौं । विवाहपछि प्रसंग चल्दा मदन र विद्याजीले आफूहरू कसरी विवाह बन्धनमा बाँधिने निष्कर्षमा पुगिएको थियो भन्ने कुरालाई जानकारी गराउनुभएको अहिले पनि मेरो मानसपटलमा ताजै छ । उहाँहरूले दिनुभएको जानकारीलाई हामीहरूले रूचिपूर्वक सुनेका थियौं ।
प्रतिकूलता र चुनौतीबीचको दाम्पत्य जीवन
मदन र विद्या बैबाहिक बन्धनमा बाँधिएपछि दाम्पत्य जीवनको सिलसिला त सुरू भयो । तर, पार्टी जिम्मेवारीको चुनौतीपूर्ण अवस्थाका कारण कठिनाइ र अनिश्चयले भने साथ छोडेनन् । बरू बढ्दै गएका थिए । दम्पतीका रूपमा रहनुपर्ने तर समाजका अगाडि र आम पार्टी पंक्तिमा स्वाभाविक आवरण कायम राख्नैपर्ने (पार्टी पंक्तिमा पनि सबैसित खुल्न सकिँदैनथ्यो) ! मदनको जिम्मेवारी दिनप्रतिदिन बढ्दै गइरहेको थियो । पार्टीको क्षेत्रीय कमिटीको प्रमुखका नाताले विभिन्न जिल्लाहरूद्वारा भूमिगत रूपमा आयोजना गरिएका बैठक तथा भेलाहरूमा पुग्नैपर्ने, प्रायः काठमाडौंमा रहने गरेको पार्टी ‘हेडक्वार्टर’सित नियमित सम्पर्क राख्नैपर्ने र दिनप्रतिदिन भूमिगत पार्टीका बढिरहेका राजनीतिक-सांगठनिक गतिविधिहरूका कारण सत्तासीनहरूको चियोचर्चोसित पनि बच्नैपर्ने स्थितिका बीचमा मदनले आफ्ना गतिविधिहरूलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता टड्कारो बनिरहेको थियो । त्यस्तो अवस्थामा विद्याजीले कुनै न कुनै पेशाको आवरणमा रहनुपर्ने अवस्था आइलागेको थियो र उहाँले बेलबारीस्थित नक्सालको स्कूलमा पढाउन सुरू गर्नुभयो । उहाँले स्थानीय पार्टी कमिटीमा पनि संगठित भएर गतिविधिहरूमा लाग्नुपर्ने र आवरणका लागि र आवश्यकताले पनि कुनै पेशामा गाँसिनैपर्ने कारणले एउटा अप्ठ्यारो स्थिति बनेको थियो ।२०३९ साल असोजपछि नेकपा मालेको सांगठनिक जीवनमा एउटा गम्भीर चुनौती आइलागेको थियो । त्यसवेलासम्म महासचिव रहेका सीपी मैनालीलाई महासचिव पदबाट बिदा गरी झलनाथ खनाललाई महासचिव बनाइएको थियो । तर, यो काम त्यति स्वाभाविक रूपमा भएको थिएन । पार्टीभित्र देखापर्दै गएका विविधता र त्यसकारणले त्यहाँ उत्पन्न हुँदै गएको अन्तर्विरोधलाई महासचिव सीपी मैनालीले योग्यतापूर्वक बुझ्न र हल गर्न सकिरहनुभएको थिएन र अन्तर्विरोधहरूको जञ्जालमा अल्झिन पुग्नुभएको थियो । यसकारणले नेतृत्व गतिहीन बन्दै गइरहेको थियो । एकातिर त्यस्तो अवस्था थियो भने सीपीपछि पार्टीको नेतृत्व कसले लिनसक्ने हो भन्ने प्रश्नको उत्तर आइरहेको थिएन अर्थात् सीपीपछि को ? जसको उत्तर आइरहेको थिएन । यही अवस्थाको उत्कर्षमा सीपीलाई महासचिवको जिम्मेवारीबाट बिदा गरिएको थियो र केन्द्रीय नेतृत्वमा समेत केही हेरफेरसमेत गरिएको थियो । पोलिटब्युरोमा मदन भण्डारी, अमृत बोहोरालाई थप गरिएको थियो ।
‘पार्टी स्वतन्त्रता’ कि ‘राजनीतिक स्वतन्त्रता’ को राजनीतिक ब्यानर अगाडि सारिएको भए पनि ‘सीपीलाई अन्यायपूर्ण तरिकाले पार्टी महासचिवबाट हटाइएको’ भन्ने विषयले प्रमुखता पाएको थियो । यसैमा आधारित भएर सिंगो पार्टी पंक्ति विभाजित बनिरहेको थियो । यस्तो वेलामा पार्टीभित्र अत्यन्त होसियारीपूर्वक तर दृढतापूर्वक वैचारिक बहस छलफल सञ्चालन गर्दै पार्टी पंक्तिमा नयाँ स्तरमा आत्मविश्वास भर्नुपर्ने आवश्यकता थियो । यो काममा मदन भण्डारी विशेष गम्भीरताका साथ लाग्नुभएको थियो । उहाँलाई जतिवेला भेट्दा पनि गहन ढंगले लेखपढ गरिरहेको या साथीहरूसित गम्भीरताका साथ छलफल गरिरहेकै देखिन्थ्यो । त्यसबीचमा उहाँले त्यसवेलाको राजनीतिक बहसमा सही दृष्टिकोण दिने हिसाबले ‘राजमोती’ का नामबाट केही सैद्धान्तिक-राजनीतिक प्रकाशनहरू गर्नुभएको थियो । ती रचनाहरूले त्यसवेला नेकपा माले पंक्तिलाई सही ढंगले दिशा निर्देश गरेको थियो ।
‘सीपीद्वारा सृजित समस्याका कारण पार्टीले सही नेतृत्व दिन सक्ला कि नसक्ला, पार्टीलाई वैचारिक र संगठनात्मक हिसाबले कसरी अगाडि बढाउन सकिएला भन्ने समस्यामा केन्द्रित रहेर आफूले यसबीच अध्ययनमा केन्द्रित रहेर समय बिताएको मदनले त्यसवेला एकपटक भन्नुभएको थियो । वास्तवमा त्यसवेला मदनको अर्जुनदृष्टि नै त्यही थियो र एउटा रचना त यही नामबाट उहाँले तयार गर्नुभएको थियो ।
पार्टीभित्रको त्यस्तो स्थितिका बीचमा र त्यसैकारण मदनको विशेष व्यस्तताका कारण मदन-विद्याको दाम्पत्य जीवनले कतिपय वेला असहजसमेत झेलेको अनुमान गर्न सकिन्छ । विवाहपछिको समयमा सहज दाम्पत्य जीवनको चाहना हुनु स्वाभाविक हो । विद्या र मदनले पनि त्यस्तो चाहनु स्वाभाविक थियो । तर, पार्टीभित्रको परिस्थितिले उहाँहरूका लागि त्यो सम्भव भइरहेको थिएन । वास्तवमा त्यसवेला मदनको वैचारिक र सांगठनिक भूमिका यति बढिरहेको थियो कि पार्टीभित्र उहाँलाई सबैले अपरिहार्य जस्तो ठानिरहेका थिए । जेठी छोरी निशा जन्मिसकेकी थिइन् । कतिपय समस्याहरूको सामना गरिरहनुपरेको थियो विद्याजीले । तर, उहाँहरू दुवै जना सँगै बसेर सरसल्लाहसमेत गर्न सकिरहनु भएको थिएन । एकातिर थुप्रै व्यवहारिक समस्या विद्याजीले झेलिरहनु भएको थियो अर्कोतिर मदनजी पार्टी जीवनसित गाँसिएका समस्याहरूसितै जुधिरहनुभएको थियो ।
त्यसैबीच एक पटक विद्याजीलाई हामीले भेटेका थियौं- अत्यन्त दुब्ली, समस्याका पहाड बोकेर हिँड्ने प्रयत्न गरिरहेकी एउटी भद्र महिलाको आकृति आफू अगाडि उभिए जस्तो लागेको थियो त्यसवेला मलाई । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको प्रारम्भ हुँदै थियो । त्यसैबीच नेकपा माले आफ्नो चौथो राष्ट्रिय महाधिवेशनको तयारी पनि गर्दै थियो । महत्वपूर्ण नीति र नेतृत्वमा समेत परिवर्तन गर्नुपर्ने आवश्यकता टड्कारो बनिसकेको थियो । सिरहाको विष्णुपुर कट्टीको उत्तरतिरको गाउँमा महाधिवेशन गर्ने निर्णय हामीहरूले गर्यौं । जनताको कडा सुरक्षा प्रवन्धबीचमा आयोजना गरिएको त्यो महाधिवेशन सानदार ढंगले सफल रह्यो । हुन थालेको आन्दोलनको तयारीका लागि विभिन्न समूहहरूमा छरिएर रहेका वामपन्थी समूहरूबीचमा कार्यरत एकता गर्ने र वाममोर्चा गठन गर्ने र साझा शत्रु- निरंकुशता र निर्दलीयताका विरूद्ध संयुक्त संघर्ष गर्न नेपाली कांग्रेससित समेत कार्यगत एकता गर्ने जस्ता महत्वपूर्ण निर्णयहरू गरियो । महाधिवेशनमा गरिएका ती निर्णयहरूलाई कार्यान्वयन गर्न त्यहीबाट सर्वसम्मत मदन भण्डारीलाई महासचिवमा निर्वाचित गरियो ।
नेकपा एमालेको २०५९ मा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि लगातार दुइटा महाधिवेशनबाट (आठौं राष्ट्रिय महाधिवेशन २०६५ र नवौं राष्ट्रिय महाधिवेशन २०७१) मा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । यसरी पार्टी नेतृत्वमा रहेको वेला उहाँको पार्टीभित्रको भूमिका प्रभावकारी नै रहेको थियो ।
मदन भण्डारी महासचिव भएपछि मुलुकमा राजनीतिक परिवर्तनका लागि त्यसवेलाको ‘माले’ पार्टीले केन्द्रीय नीतिमा मात्र परिवर्तन गरेन, उल्लेखनीय सक्रियता र पहलकदमी पनि लिन थाल्यो । खासगरी ‘संयुक्त वाममोर्चा’ बनाउने कुरा र साझा शत्रुका विरूद्ध नेपाली कांग्रेससित समेत कार्यगत एकता गर्ने विषयमा विशेषै सक्रियता र पहलकदमी लियो ‘माले’ ले । यी कामका लागि योग्यतापूर्वक नेतृत्व गर्ने र समन्वय गर्ने काम गरिरहनु भएको थियो मदनले । उहाँ यिनै काममा अर्जुनदृष्टि दिएर लागिरहनु भएको थियो । ‘माले’ को केन्द्रीय कमाण्ड बनाएर उहाँ यस काममा जुट्नु भएको थियो । मूलतः काठमाडौं उपत्यकामा केन्द्रित रहेर उहाँ यी कामहरू गरिरहनु भएको थियो । त्यस्तो चुनौतीपूर्ण र जटिल काममा जुटिरहेका मदन भण्डारीले श्रीमती, घरपरिवारमा राम्ररी ध्यान पुर्याउन सक्ने कुरै थिएन । त्यो सालको दशैंसमेत उहाँले घरपरिवारसित सँगै बसेर मनाउनसमेत पाउनु भएन !
२०४६ सालको जनआन्दोलनको सफलतापछि मदन-विद्याजीको जीवन स्थितिमा केही परिवर्तन भयो । खासगरी उहाँहरू सँगै बस्ने स्थिति बन्यो । मदन माले पार्टीको महासचिवका रूपमा सार्वजनिक रूपमा र एउटा हैसियतका साथ काठमाडौंमै बस्नुपर्ने आवश्यकता पर्यो । पार्टीले व्यवस्था गरेको डेरामा उहाँ बस्नुपर्ने भयो र विद्याजी पनि आफ्ना ससाना छोरीहरूसहित सँगै बस्न थाल्नुभयो । काठमाडौंको नक्साल चारढुंगेमा बस्न थाल्नुभएको थियो उहाँहरू । आन्दोलन हाँकिरहेको र परिवर्तनको महान अभियानमा जुटिरहेको आफ्नो श्रीमानलाई निष्ठापूर्वक सघाइरहेकी एउटी असल श्रीमतीका रूपमा त्यसवेला मैले विद्याजीलाई देखेको थिएँ । त्यो भूमिकाबाट उहाँ मदनलाई अघि बढाइरहनु भएको थियो । त्यसवेला मदन-विद्याको जोडीलाई देख्ने/भेट्नेहरू प्रायः सबैले प्रशंसा गर्थे ।
संकटपूर्ण वैध्यव्य जीवन
२०५० जेठ ३ गते नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको दिन हो । रहस्यमय सडक दुर्घटनामा महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । साँझ पर्नैलागेको थियो । मलगायतका केही साथीहरू बागबजारस्थित पार्टी कार्यालयमै थियौं । त्यस दिनका कामहरूका बारेमा छलफल गर्दै भोलिपल्टका कामहरूका बारेमा केही योजनाहरू बनाउँदै थियौं । त्यहीबेला खबर प्राप्त भएको थियो । खबर सुनेर हामीहरू अत्तालिएका थियौं- कोही त रोएका पनि थियौं । अत्तालिँदै चारैतिर सूचना गर्न थाल्यौं । हामीहरूलाई के गरौं, कसो गरौं भइरहेको थियो । सम्भव भएका नेता साथीहरूलाई त्यहीबाट खबर गरिरहेका थियौं । जानकारी पाउनासाथ साथीहरू पार्टी कार्यालयमा आउनुभएको थियो । त्यसैबीच मैले आफ्नो डेरामा मीरालाई नक्साल चारढुंगे गैहाल्न र विद्याजी र केटाकेटीहरूलाई सान्त्वना दिन तथा सम्हाल्ने काम गर भनेर अह्राएको थिएँ । उनी ससाना छोराहरूलाई छोडेर त्यहाँ पुगेकी थिइन् ।
ठूलो र अत्यन्त दुर्भाग्यपूर्ण घटना घटेको थियो । उहाँहरूको रहस्यमय मृत्युले नेकपा एमालेको जीवनमा मात्र नभएर मुलुककै राजनीतिमा ठूलो क्षति पुगेको थियो । सिंगो मुलुक नै तरंगित हुन पुगेको थियो, आम नेपाली जनता शोकमा डुबेका थिए । तर, मदन र आश्रितका परिवारमा पुगेको क्षति अकल्पनीय थियो । दुइटा ससाना छोरीहरू छोडेर मदन जानुभएको थियो । जीवराजजीका नहुर्किसकेका एक छोरी र एक छोरा थिए । अत्यन्त ठूलो बज्रपात परेको थियो ती परिवारमा । लगभग ११ वर्षमात्र पुगेको थियो- मदन विद्या दाम्पत्य जीवनमा बाँधिनुभएको । यस अवधिमा पार्टीको जिम्मेवारीका कारण निकै समय सँगै बस्ने स्थितिसमेत बनेन । काखमा राम्ररी नहुर्किसकेका दुइटी ससाना छोरी थिए ।
पहिले जस्तो पार्टीमा खासै संगठित जिम्मेवारी पनि थिएन । एक किसिमले गृहिणी जस्तो स्थिति बनेको थियो विद्याजीको । मदनजीको विशेष किसिमको जिम्मेवारी र त्यसमा सघाउ पुर्याउनुपर्ने आवश्यकता, आमा भएर ससाना छोरीहरूको देखभाल गर्नुपर्ने जिम्मेवारी आदि कारणले विद्याजी त्यो अवस्थामा पुग्नुभएको थियो । यहीवेला उहाँमाथि त्यस्तो बज्रपात परेको थियो । आम मानिसहरू यस घटनाबाट काँपिरहेको जस्तो लाग्थ्यो । मदन आश्रितको रहस्यमय मृत्युले एउटा डरलाग्दो मौनता छाएको थियो । सबैजना अब विद्याजीको बाँकी जीवन कसरी बित्ला वा अगाडि बढ्ला भन्ने चिन्तामिश्रित खुल्दुलीमा थिए ।
पार्टीका केही नेताहरू, उहाँका नजिकका केही साथीहरू विस्तारै उहाँलाई भन्न थाल्दै थिए- ‘अब बाँकी जीवन मदन कमरेडले हिँडेको राजनीतिक जीवनलाई पछ्याउनुपर्छ, राजनीतिमा आउनुपर्छ, तपाईं राजनीति गरेरै आउनु भएको मान्छे’ आदि कुराहरू गर्दै थिए । तर, परिस्थितिको जटिलतामा उहाँ राम्ररी निर्णय गर्न सकिरहनु भएको थिएन । त्यसको केही समयपछि नै २०५० सालमै मदन कमरेडले प्रतिनिधित्व गरेको क्षेत्र काठमाडौं १ मा उपनिर्वाचन हुने भयो । सबै राजनीतिक दलहरू उम्मेदवार उठाउने कुरामा केन्द्रित रहे । नेकपा एमालेले पनि आफू- आफ्नो प्रिय नेता- विजयी बनेको क्षेत्रमा पुनः विजयी बन्न सक्ने, जनसमर्थन प्राप्त गर्नसक्ने उमेदवार उठाउनुपर्ने आवश्यकता थियो । राजनीतिक पृष्ठभूमि, भावनात्मक सम्बन्ध, जनसमर्थन र विजयको सम्भावनालाई ख्याल गर्दै एमालेले विद्या भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
२०५४ सालमा पहिलोपटक वातावरणमन्त्री बन्नुभएको उहाँ २०६६ सालमा रक्षा जस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने स्थानमा पुग्नुभयो । यी दुवै पटक उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो र योग्यतापूर्वक नेतृत्व गर्नुभयो ।
यो निर्णयले व्यापक जनसमर्थन प्राप्त गरेको थियो । विद्याजीले पार्टीले गरेको निर्णयलाई शीरोधार्य गर्दै प्रतिस्पर्धाको मैदानमा उत्रनुभएको थियो र उहाँले सानदार ढंगले जित्नुभएको थियो । विद्या भण्डारीजीले वैधव्य जीवनको असहज र पीडा मिश्रित अवस्थामा दिवंगत पति र पार्टीका अत्यन्त सम्मानित नेताको स्थानमा विजयको झण्डा फहराउनु भएको थियो । यसरी, नयाँ चरणमा उहाँको राजनीतिको विजयी यात्रा प्रारम्भ भएको थियो । त्यसपछि, २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको संसदीय निर्वाचनमा काठमाडौंबाट उहाँले सानदार ढंगले विजय प्राप्त गर्नुभयो । विद्याजी यो नयाँ जिम्मेवारी लिइरहँदा राजनीतिक जिम्मेवारीको भारी त बहन गरिरहनु भएको थियो । साथै चुनौतीपूर्ण वैधव्य जीवनसित पनि जुधिरहनु भएको थियो । त्यसक्रममा यस्तो लाग्थ्यो- उहाँ काँढाघारीहरूलाई छिमल्दै राजनीतिक यात्रामा निरन्तर अगाडि बढिरहनुभयो ।
सुझबुझपूर्ण राजनीतिक जीवन/जिम्मेवारपूर्ण राजकीय काम
लगातार दोस्रोपटक राष्ट्राध्यक्षको ऐतिहासिक र गौरवपूर्ण जिम्मेवारी पूरा गर्दै आजको अवस्थासम्म आइपुग्दा के देखिन्छ भने विद्या भण्डारीजीले राजनीतिक जीवन प्रारम्भ गरेदेखि आजसम्म आधारभूत रूपमा सुझबुझपूर्ण राजनीति गर्दै आउनुभयो । यो यात्रामा कहिले विजय प्राप्त गर्नुभयो, कहिले पराजित पनि हुनुभयो । कहिले प्रशंसा पाउनुभयो, कहिले टिप्पणी र अपमान पनि पाउनुभयो । कहिलेकाहीं खुशीका क्षण पनि रहे, कहिलेपीडाका भारी बोकेर पनि हिँड्नुपर्यो । त्यस्तो प्रतिकूल अवस्थामा पनि उहाँले आधारभूत रूपमा कहिल्यै सन्तुलन गुमाएको देखिएन । प्रस्तुति र अभिव्यक्तिका साथै सारमा समेत विद्या भण्डारीमा यो विशेषता हामीले देखेका छौं ।
नेकपा एमालेको २०५९ मा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि लगातार दुइटा महाधिवेशनबाट (आठौं राष्ट्रिय महाधिवेशन २०६५ र नवौं राष्ट्रिय महाधिवेशन २०७१) मा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । यसरी पार्टी नेतृत्वमा रहेको वेला उहाँको पार्टीभित्रको भूमिका प्रभावकारी नै रहेको थियो । पार्टीभित्र चलेका बहस/विवादमा उहाँ आफूलाई एउटा पृथक पहिचानका साथ प्रस्तुत गर्न कहिल्यै चुक्नुभएन । लगातार तीनपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुँदा विद्याजीले एउटा जिम्मेवार जनप्रतिनिधिको भूमिका पूरा गर्नुभयो । जनप्रतिनिधिका हिसाबले जनस्तरबाट उहाँले खासै टिप्पणीहरू सहनुपरेन । सधैं जनताको प्रिय प्रतिनिधिका रूपमा रहनुभयो । उहाँ जनप्रतिनिधि रहेकै वेला (अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षसमेत रहेका वेला) राजनीतिक दलहरूभित्र र जनप्रतिनिधित्व हुने स्थानहरूमा महिलाहरूलाई कम्तीमा ३३ प्रतिशत स्थान सुरक्षित गराउने कुरामा उहाँले नेतृत्वदायी भूमिका खेल्नुभएको कुरा इतिहासमा सुरक्षित रहेको छ । २०५४ सालमा पहिलोपटक वातावरणमन्त्री बन्नुभएको उहाँ २०६६ सालमा रक्षा जस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने स्थानमा पुग्नुभयो । यी दुवै पटक उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो र योग्यतापूर्वक नेतृत्व गर्नुभयो । आजसम्मका विभिन्न मोडहरूमा उहाँले यी कुरा देखाउँदै आउनुभएको छ ।
अत्यन्त जोखिमपूर्ण राजनीतिक परिस्थितिका बीचमा उहाँले त्यो जोखिम मोलेर अभियानमा जुटेको एउटा नेतासित आफ्नो जीवन जोड्ने साहसिक निर्णय गर्नुभयो । यो दूरदर्शिता र सुझबुझपूर्ण निर्णय थियो । त्यसवेला त्यो निर्णयमा पुग्नु त्यति सहज हुन सक्तैनथ्यो । तर, उहाँले त्यो गर्नुभयो । यस्तै आफ्ना सम्मानित पति मदन भण्डारीको निधनपछि पार्टीको पूर्णकालीन कार्यकर्ताका रूपमा जीवनलाई अघि बढाउने निर्णयमा पुग्नु र त्यसपछिका हरेक महत्वपूर्ण मोडहरूमा चुनौतीहरूको सामना गर्दै त्यही लक्ष्यअनुरूप आफूलाई अगाडि बढाउने काम गर्नु सुझबुझपूर्ण सोचाइलाई नै पुष्टि गर्ने आधार हुन् ।
पार्टीका महत्वपूर्ण जिम्मेवारी लिँदा, ती स्थानलाई सही तरिकाले परिचालन गर्दा, पार्टीभित्रका वैचारिक बहसहरूमा अडान लिँदा, पटक–पटक जननिर्वाचित प्रतिनिधि बनेका बेला राज्य सञ्चालनका महत्वपूर्ण जिम्मेवारीहरूमा पुगेका वेला र पछिल्ला दिनहरूमा राष्ट्राध्यक्षको भूमिकामा पुग्दा यस किसिमले काम गरेको देखिएको छ । विचार बनाउँदा, अड़ान लिँदा, विषयलाई निष्कर्षमा पुर्याउँदा, आफ्ना भनाइहरू प्रस्तुत गर्दा र अरूका कुराहरूप्रति प्रतिक्रिया जनाउँदा यो कुरा देखिँदै आएको छ । मदन भण्डारीसितको सांस्कृतिक/भावनात्मक सम्बन्ध र विरासतका कारण पनि यी कुराहरू अक्षुण्ण रूपमा देखिने गरेका हुन् भन्न सकिन्छ । यस किसिमको सुझबुझपूर्ण विचार र प्रस्तुतीकरण सम्बन्धमा वेलावेलामा केही टीकाटिप्पणीहरू आए पनि दीर्घकालीन हिसाबले यिनले एउटा सकारात्मक सन्देश दिएको छ ।
वर्तमान संविधानले राष्ट्रपतिलाई ‘सेरेमोनियल’ ठाउँमा राखेको छ । राष्ट्रपतिले सरकारले गरेका औपचारिक निर्णयहरूलाई स्वीकृति दिने काम मुख्य हो । सम्माननीय राष्ट्रपति विद्या भण्डारीजीले पूर्ण जिम्मेवारीका साथ र योग्यतापूर्वक ती कामहरू पूरा गर्नुभएको छ ।
एउटी जिम्मेवार पत्नी/एउटी असल आमा
विवाहपश्चातको विद्याजीको जीवन लगभग एघार वर्ष रह्यो । (२०३९ साउनदेखि २०५० बैशाखसम्म भनौं) त्यस अवधिमा भावनात्मक रूपमा दाम्पत्य जीवन राम्रो रह्यो । तर, परिस्थितिका अरू कतिपय कुराले जीवन सहज रहेन । अप्ठेरो अवस्थाबाट गुज्रनुपर्यो । राजनीतिक र सांगठनिक जिम्मेवारीमा मदन भण्डारीलाई भ्याइनभ्याइ थियो भने विद्याजीलाई चुनौतीपूर्ण परिस्थिति, जोखिमपूर्ण जीवनचर्या, ससाना दुइटा छोरी र उनीहरूको लालनपालन, परिवारसित कायम राख्नैपर्ने सन्तुलित र स्वाभाविक सम्बन्ध, जीवन चलाउन शिक्षण पेशामा रहनुपर्ने बाध्यता आदि कारणले त्यस्तो अवस्था व्यहोर्नुपरेको थियो । तर, त्यस्तो हुँदाहुँदै पनि विद्याजीले त्यसलाई जीवनको जिम्मेवारीको रूपमा स्वीकार गरेर अघि बढिरहनुभयो । त्यस्तो परिस्थितिमा पनि मदन भण्डारीप्रति आदर, सद्भाव, माया र सहयोगी भावनामा कहिल्यै कमी आउन दिनुभएन विद्याजीले ।
एकपटक मदन भण्डारी दशैंमा समेत विद्याजी र छोरीहरूसित भेट्न जान सक्नुभएन, काठमाडौंमा हामीसँगै रह्यौं कामकै व्यस्ततामा । हामीले त्यसवेला धेरै अन्तरंग भएर कुरा गरेका थियौं । क्रान्तिकारी जीवन बिताउनेहरूले दाम्पत्य जीवनका बारेमा के कसरी सोच्नुपर्छ भन्ने कुरालाई म र मीरालाई सँगै राखेर बताउनुभएको थियो । त्यसवेला उहाँले आफ्ना भोगाइ र अनुभवका आधारमा काठमाडौं ज्ञानेश्वरमा रहेको मेरो डेरामा आएका वेला ती कुराहरू सुनाउनु भएको थियो । उता विद्याजीले आफ्नो त्यो स्थितिमा रहेर पनि व्यवहारमा र जिम्मेवारी पूरा गर्ने कुरामा कहींकतै कुरा उठ्न दिनुभएन । एउटा जिम्मेवार पत्नी र असल आमा भएर उहाँले आफूलाई प्रस्तुत गरिरहनुभयो ।
त्यही भूमिका र ऊर्जाले विद्याजी कतिपयले नचाहँदानचाहँदै पनि आज राष्ट्रको एउटा भरोसालाग्दो अभिभावक बनेर देखापरिरहनु भएको छ । आज उहाँका ती छोरीहरू अत्यन्त उज्ज्वल सम्भावना बोकेर आत्मनिर्भर र स्वाभीमानसहितका पौरखी बनेर अगाडि बढिरहेको हामी देख्छौं । मदनजीको निधनपछि पैदा भएको रिक्ततामा समेत विद्याजीलाई आफ्ना पतिका असल कुराहरूलाई आदर्श मानेर अघि बढिरहने आदर्श महिला र एउटा असल आमा बनिरहने अभिभाराबाट विमुख हुन दिएन । अहिले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई देखिरहँदा-भेटिरहँदा पनि उहाँको यो पृष्ठभूमि र भूमिकाका कारण राष्ट्रिय राजनीतिमा एउटा स्थापित एवं सम्मानित अभिभावकका रूपमा महसुस गर्ने स्थिति बनिरहेको छ ।
राष्ट्राध्यक्षका रूपमा गरेका काम
वर्तमान संविधानले राष्ट्रपतिलाई ‘सेरेमोनियल’ ठाउँमा राखेको छ । राष्ट्रपतिले सरकारले गरेका औपचारिक निर्णयहरूलाई स्वीकृति दिने काम मुख्य हो । सम्माननीय राष्ट्रपति विद्या भण्डारीजीले पूर्ण जिम्मेवारीका साथ र योग्यतापूर्वक ती कामहरू पूरा गर्नुभएको छ । पहिलो कार्यकाल २०७२ साल कार्तिक ११ मा सुरू भएर २०७४ साल फागुन २८ गतेसम्म रहेको थियो । २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो ।
यी दुवै कालमा सम्माननीय राष्ट्रपति विद्या भण्डारीजीले ‘संविधान र संघीय कानूनबमोजिम आफ्नो कार्य सम्पादन गर्ने, नेपालको राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने र संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने’ भन्ने कुरालाई विशेष ख्याल गर्नुभएको देखिन्छ । उहाँले राष्ट्रको अभिभावकका हिसाबले उक्त भूमिका पूरा गर्नुभएको छ । उहाँको यस किसिमको भूमिकाप्रति केही-केहीले नकारात्मक कोणबाट पनि कुराहरू नउठाएका होइनन् । तर, उहाँले राष्ट्रिय हित र संविधानको पालना र संरक्षणका लागि विशेष सचेतनता अपनाउनुभएको देखिन्छ ।
विश्वमा राष्ट्र प्रमुख/सरकार प्रमुख महिलाहरूमा छब्बीसौं महिला हुनुहुन्छ विद्या भण्डारी । उहाँको राष्ट्रपति कालमा भएका काम र योगदानबारे सुदूर भविष्यमा समेत लेखाजोखा भई नै रहनेछ र नेपालको राजनीतिको विकासक्रममा रूचि राख्ने जोकोहीले पनि आफ्नो अध्ययनको विषय बनाइरहनेछन् ।