
- Advertisement -

- Advertisement -
काठमाडौं । शुक्लाफाँटा नगरपालिकामा आधुनिक एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।
केन्द्रमा सङ्कलित फोहरलाई वर्गीकरण गरेपछि कुहिने फोेहरबाट कम्पोस्ट मल उत्पादन गरिन्छ भने पुनःप्रयोग गर्न सकिने फोहरलाई कबाडीमा बिक्री गरिन्छ । ३० करोड २५ लाख लगानीमा निर्माण भएको फोहर व्यवस्थापन केन्द्र तीन दशमलव नौ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
बिहान फोहर सङ्कलक गाडी नगरको सहरी र ग्रामीण क्षेत्रमा डुलेर फोहर सङ्कलन गरेर ल्याउने यहाँले बताए । केन्द्रमा कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहरलाई छुट्याएर राखिने र कुहिने फोहरबाट ‘कम्पोष्ट’ मल तयार गरेर बिक्री गरिने योजना रहेको इञ्जिनियर भट्टले बताए । यसले वातावरण स्वच्छ राख्न र फोहरमैलाको उचित व्यवस्थापनमा मात्रै नभई स्थानीयमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ ।
निर्माणको काम सम्पन्न भएपछि गत भदौदेखि फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको निर्माण कम्पन्नी रमन केएस जेभीका साइट इञ्चार्ज उद्धवसिंह साउदले जानकारी दिए । “हरेक दिन बिहान हामीले बजारबाट फोहर सङ्कलन गर्छौं, यहाँ ‘रिसाइकल’ हुन्छ”, उनले भने, “चाहिने फोहर छुट्याएर राख्छौँ, काम नलाग्ने फोहर सेलमा जम्मा गरिन्छ ।”
फोहरमैला व्यवस्थापन केन्द्रमा १० वटा फोहर सङ्कलन गर्ने साधन छन् । आठ जना सरसफाइ कर्मचारी राखिएको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भएको हो । रमन केएस जेभी धनगढीसँग २०७९ वैशाख २५ मा निर्माण सम्झौता भएको थियो । फोहरमैला व्यवस्थापन केन्द्रको क्षमता छ मेट्रिक टन रहेको भए पनि अहिले दैनिक क्षमताको आधा मात्रै फोहर सङ्कलन भइरहेको छ ।
शुक्लाफाँटामा सञ्चालनमा आएको एकीकृत फोहर व्यवस्थापन केन्द्र कञ्चनपुरको पहिलो हो । यस्तै, फोहर व्यवस्थापन केन्द्र भीमदत्तमा पनि निर्माण गर्ने तयारी भए पनि त्यसका लागि स्थान नपाउँदा परियोजना फिर्ता भएको छ । स्थानीयले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्दा त्यसले वातावरण प्रदूषित हुने भन्दै विरोध गरेपछि परियोजना फिर्ता भएको होे ।
फोहरमैला व्यवस्थापन केन्द्रमा कुहिने फोहरबाट मलखाद बनाइने र नकुहिने तर पुनःप्रयोग गर्न सकिने वस्तु प्रशोधन गरिने भएकाले यो वातावरणीय प्रदूषण न्यूनीकरण गर्न र स्थानीयस्तरमा आम्दानीको स्रोतसमेत बनेको छ ।

- Advertisement -

