Online News

अनेरास्ववियुले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने, केन्द्रीय कमिटीमा नयाँलाई अवसर

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले २३औं राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने भएको छ । आसन्न महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुनिता बरालले नेतृत्व चयन हुन नसके निर्वाचन प्रणालीमा जाने तयारी रहेको जानकारी दिइन् ।

उनले भनिन्, ‘यो महाधिवेशको मुख्य उद्देश्य नै नेतृत्व छनोट गर्ने कुरा हो । हामी १९९ केन्द्रीय कमिटी र तीनवटा आयोगहरू निर्वाचित गर्छौं । आयोगमा अध्यक्ष र सचिवसहित १५ जनाको टीम बन्छ । सकेसम्म सर्वसम्मत नेतृत्व छनोट गर्ने प्रयास गरिन्छ । नभएका पदमा निर्वाचन गछौं । हामीले निर्वाचनको लागि विद्युतीय प्रणालीबाट गर्नका लागि तयारी गरिसकेका छौं ।’  उनले उद्घाटन सत्र प्रविधिमैत्री बनाउन प्राथमिकता दिने पनि बताइन् ।

‘हामीले प्रविधिमैत्री संगठन र विद्यार्थीको हितका लागि आजको मनोभावनाअनुसार चल्छौं । केन्द्रीय पदाधिकारी केही अग्रज साथीहरू हुनुहुन्छ’ बरालले भनिन्, ‘हाम्रो स्थायी कमिटीको संरचना बन्छ । त्यसमा केही नियमित अध्ययन गरिरहेका र केही अहिले काम गरिरहेका साथीहरू हुनुहुन्छ ।’ १९९ सदस्यीय केन्द्रीय कमिटीमा अधिकांश नयाँलाई अवसर दिने उनको भनाइ छ । अनेरास्ववियुको महाधिवेशन फागुन २ देखि ३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Comments are closed.