Online News

अपाङ्गता भएकाहरूलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने झमेला कम गर्ने काममा लाग्छु : हरि बुढामगर

काठमाडौँ- सगरमाथाको सफल आरोहण गरेर फर्किएका पूर्व गोर्खा सैनिक हरि बुढामगरले अपाङ्गता भएकाहरूलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने प्रक्रियागत झमेलालाई कम गर्ने काममा लाग्ने बताएका छन् । सगरमाथाको आरोहणपछि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले सगरमाथा चढ्दाको अनुभव सेयर गर्दै यस्तो बताएका हुन् ।

उनले हिमाल चढ्दा अपाङ्गता भएका मानिसहरूले हिमाल चढ्न गर्नुपर्ने प्रक्रियालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर आगामी दिनमा काम गर्ने लक्ष्य रहेको जिकिर गरे । उनले अब अपाङ्गता भएकाहरूले आफूले जस्तो लामो प्रक्रिया भोग्नु नपर्ने अवस्था सिर्जना गर्ने पनि उल्लेख गरे ।

मगरले सगरमाथाको चुचुरोमा पुगेर धेरै फोटो खिच्ने र विश्वको अग्लो स्थानबाट सबै हिमाल हेर्ने सपना मौसमका कारण सफल हुन नसकेको बताए । उनले शरीरमा अक्सिजन नहुँदा कस्तो हुँदो रहेछ भन्ने कुरा सगरमाथा चढ्दा अनुभव दिएको जिकिर गरे । उनले सगरमाथा चढ्दा अक्सिजन सकिएर माथि जान नसक्ने गरी शरीर चिसो भएको र पछि अक्सिजन परिवर्तन गरेपछि स्वस्थ भएर माथि चढेको अनुभव साझा गरे ।

दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमे पनि मानिसले नै रकेट बनाएर अन्तरिक्षमा पुगेको भन्ने सोच आएकाले सगरमाथा चढ्ने आँट गरेको बुढाकाे भनाइ छ । उनले विश्वमा कतै पनि आफ्नो जस्तो खुट्टा डिजाइन नभएको बताए ।

वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेका थिए । उनको स्वागत तथा सम्मानका लागि पर्यटनमन्त्री सुदन किराती पनि विमानस्थल पुगेका थिए ।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गरे ।

ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्धमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राखेको विश्व कीर्तिमान लगन, साहस र गौरवको प्रतीकका रूपमा सबैका लागि सदैव प्रेरणाको विषय हुने आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलले बधाई सन्देशमा उल्लेख गरेका छन् ।

Comments are closed.