Online News

अष्टलक्ष्मीले जित्नैपर्छ, एक-दुई सांसद मिलाउनुस् : ओली

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताएका छन् । यसका लागि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्काे एक/दुई जनालाई मिलाउनुपर्ने उनले बताए ।

एमाले सांसद तथा प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेपनि उपराष्ट्रपतिमा जित्ने सम्भावना रहेको बताए । सबै सम्भावनाबारे चर्चा नगर्ने भन्दै उनले भने, ‘उनीहरुभित्र अनेक प्रकारका समस्या छ, हामीभित्र छैन ।’

एमाले अध्यक्ष ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये पुरुष र महिलाको सन्तुलन मिलाउनुपर्ने बताए । तर १० दलले संविधानमा भएको अपष्टतालाई देखाएर गलत व्याख्या गर्न खोजेको भन्दै उनले भने, ‘अहिलेको १० टाउके रावण पनि महिलाको हक अधिकार हनन गर्न लागेका छन् ।’

१० दलका नेताहरुको वुद्धिले काम नगरेपनि ती दलमा आवद्ध संघीय सांसद र प्रदेशसभा सदस्यहरुले यसलाई बुझ्नुपर्ने एमाले अध्यक्ष ओलीले बताए । दशकौंसम्म भूमिगत भएर हिँडेकी शाक्यको महिला आन्दोलनमा असाधारण योगदान रहेको बताए । उनले जित्नेपर्ने भन्दै ओलीले भने, ‘माननीयजीलाई मैले यति यति भोट थपियोस् भन्ने होस् । कमसेकम एकजना, दुईजना मिलाउनुस् । यहाँ ह्वीप उल्लंघनको प्रश्न छैन ।’

एमाले अध्यक्ष ओलीले सांसद र प्रदेशसभा सदस्यले हाल्ने मत बदर हुन नहुने बताएका छन् । ‘मत बदर हुनु भनेको कि त बेइमानी गरेको हो, कि भोट हाल्न पनि आउँदैन’, उनले भने, ‘आसन ग्रहण गर्न लड्छौं, अनि छाप हान्न आउँदैन । छाप हान्न आउँदैन भने आसन ग्रहणमा किन लड्ने ?’

संविधान संशोधन गर्दा ध्यान दिउँला

उपराष्ट्रपति पद काम नभएको सेरेमोनियल भएकाले संविधान संशोधन गर्दा ध्यान दिनुपर्ने ओलीले बताए ।

भारतमा झै उपराष्ट्रपति नै राष्ट्रियसभाको अध्यक्ष हुने व्यवस्था गर्नुपर्ने बहस भइरहेको भन्दै ओलीले भने, ‘यसो गर्दा संसद र अरु संक्रियता पनि हुन्छ भन्ने बहस छ । खर्चको हिसाबले उपयुक्त पनि होला । यो संविधान संशोधनको बेला विचार गरौंला ।’

तर अहिले भने पार्टीकी उम्मेदवार शाक्यलाई उपराष्ट्रपति बनाउन लाग्नुपर्ने उनले बताए ।

Comments are closed.