Online News

एमाले संसदीय दलको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला नियुक्त

 २०७९ फागुन २८ गते 

काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । लामो समयदेखि एमालेले प्रमुख सचेतक र सचेतक चयन गरेको थिएन ।

संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार पूर्वस्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक चयन गरेका हुन् । गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् ।

उनीहरू दुवैजना कुनै बेला सँगै अनेरास्ववियुको केन्द्रीय कमिटीमा थिए ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चार महिनापछि ओलीले दलको प्रमुख सचेतक र सचेतकमा युवा नेताहरूलाई जिम्मा दिएका हुन् । गिरी दोस्रोपटक चुनाव जितेर छोटो समय मन्त्री बनेर बाहिरिएका नेता हुन् । उनी विद्यार्थी राजनीतिमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए ।

बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा आएका हुन् । भेट्रान नेता विरोध खतिवडालाई पराजित गरेर आएका बर्तौला पनि विद्यार्थी राजनीतिमा हुँदा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । बर्तौला राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारका प्रतिनिधि हुन् ।

Comments are closed.