Online News

गठबन्धन सरकार पाँच वर्ष टिक्छ : ज्ञानेन्द्र बहादुर कार्की

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ४ को हनुमान चौकदेखि सीमावर्ती देपानगञ्ज गाउँपालिकासम्म जोड्ने सडकको शिलान्यास गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘नेपालमा अस्थिरता मच्चाउने शक्ति सधैँ लागिरहेको छ । त्यस शक्तिलाई पराजित गर्नु अहिलेको चुनौती हो,’ कार्कीले भने, ‘वर्तमान सरकार ढल्छ भन्ने हल्ला चलाइएको छ । म तपाईँहरूलाई ढुक्कका साथ भन्छु आउने पाँचै वर्ष गठबन्धनको सरकार टिक्छ, एमाले पाँचै वर्ष प्रतिपक्षी हुन्छ ।’ उनले नेकपा एमाले र काँग्रेस मिलेर सरकार बनाउने विषय पनि हल्ला मात्रै भएको र त्यो असम्भव भएको बताए ।
साढे १० किलोमिटर सडकको शिलान्यास
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता कार्कीले सदरमुकामदेखि सीमावर्ती गाउँसम्म जोड्ने सडकको इनरुवा ४ स्थित हनुमान चोकमा शिलान्यास गरेका हुन् ।
 उक्त सडक कोसी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएको हो । २३ किलोमिटर सडकमध्ये हाल साढे १० किलोमिटर सडक निर्माणको ठेक्का लागेको हो । उक्त सडक महावीर इन्जिनियरिङ एन्ड कन्सट्रक्सन प्रालि काठमाडौँले ३२ करोड ८३ लाख पाँच हजार ८०३ रुपैयाँमा ठेक्का पाएको हो ।

सडक शिलान्यास कार्यक्रममा कोसी प्रदेश भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईँले विकासले गति लिए मात्र मानवको जीवनस्तर उठ्ने भएकाले भौतिक पूर्वाधारको काम समयमा सक्न आग्रह गरे । उक्त सडक दक्षिण सीमावर्ती देवानगञ्ज गाउँपालिकाको वडा नम्बर ६ रासीको चमैनिया पोखरीबाट सुरु भएर इनरुवा ४ मा रहेको सशस्त्र क्याम्प हुँदै मुख्य राजमार्गको हनुमान चौक राजमार्गमा जोडिनेछ ।

Comments are closed.