Online News

जलहरी प्रकरणमा ओलीलाई जोडेर संसद्‍मा अभिव्यक्ति दिनु उचित होइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसद्मा अभिव्यक्ति दिनु उचित नभएको बताएका छन् । पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसद्मा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्रीको स्वीकारोक्ति थियो ।
शनिबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई समय दिएका थिए । प्रधानमन्त्रीले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसद्का रेकर्डबाट हटाउन सकिने प्रचलन रहेको पनि स्मरण गराए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा चर्चा उठेको छ । पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो । र, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानबिन, अनुसन्धान भइरहेको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ । पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ । यति भनिसकेपछि मैले नीति, कार्यक्रम सम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम आज नै रहेको छ । बाँकी विस्तृत रूपमा म त्यति बेला नै कुरा राख्नेछु ।’
प्रधानमन्त्री प्रचण्डले सो प्रकरणबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनको सो जवाफ दिएपछि अहिले संसद् बैठक सुचारु भएको छ ।
एमालेले सो प्रकरणमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता ओलीलाई मुछेको भन्दै शुक्रबार प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो ।

Comments are closed.