Online News

‘झारफुकबाट उपचार’ गर्ने क्रममा बालिकाको मृत्यु भएपछि १७ जना पक्राउ

फाल्गुन २७, २०७९

 

तिलोत्तमा — रुपन्देहीको सैनामैना नगरपालिका वडा न १० बेमतेनीमा बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।कथित माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गर्दा मृत्यु भएकी १४ वर्षीया बालिका सीता ज्ञवालीको हत्या आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न झाँक्री सोनिया रेश्मी सहित सोही रात सीताको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरी सुक्ष्म अनुसन्धान थालिएको निमित्त प्रवक्ता, प्रहरी निरीक्षक दीपक कुँवरले बताए ।

२० गते राति ८ बजे झाँक्रीकहाँ लगिएकी सीतालाई ‘बोक्सी बकाउने’ भन्दै लछारपछार पारी कुटपिट गरेको र सोही क्रममा उनको मृत्यु भएको थियो ।

सीतालाई लछारपछार पारेको भिडियो सामाजिक संजालमा पनि सार्वजनिक भएको छ । त्यसप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ । साथै उक्त घटनामा संलग्न मानिसहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments are closed.