Online News

नेकपा एसका दुई तिहाइ मान्छे एमालेमा फर्किँदैछन्, सम्मानित ठाउँ पाए झलनाथ आउँछन् : न्यौपाने

अम्बिका देवकोटा

काठमाडौं । नेकपा एसमा आबद्ध गाउँदेखि केन्द्रसम्मका नेता कार्यकर्ताहरू एमालेमा फर्किने तयारीमा रहेको वरिष्ठ नेता मुकुन्द न्यौपानेले बताएका छन् ।

शनिवार पार्टीबाट विद्रोहको घोषणा गर्दै नेता न्यौपानेले नेकपा एसको भविष्य नरहेको भन्दै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए । उनले देशभरका नेता कार्यकर्ता एमालेमा फर्किन तयार रहेको दाबी गरे ।

न्यौपानेले तत्काल आफूले स्वतन्त्र रहेर सबैतिर संयोजन गरेको र चाँडै मिति तय गरेर एमालेमा एकीकृत हुने जानकारी दिए । उपाध्यक्ष घनेन्द्र बस्नेत,केदार न्यौपानेलगायतका नेताहरू पनि पार्टी परित्यागको तयारीमा छन् ।

पत्रकार सम्मेलनमा नेता न्यौपानेले झलनाथ खनाल पनि माधव नेपालको कार्यशैली र दक्षिणपन्थी सोचबाट असहमत रहेको भन्दै एमालेले सम्मानित नेताको दर्जामा राम्रो सम्मान दिए नेकपा एसको दुई तिहाइ शक्ति त्यहाँबाट अलग हुने तयारीमा रहेको बताए ।

सांसद भएकाहरूलाई नौ नौ महिनामा मन्त्री दिने भनेर फकाएर राखिएको भन्दै न्यौपानेले यो गठबन्धन ५ वर्ष नजाने र नेकपा एस पनि यसबीचमा समाप्त हुने दाबी गरे ।

Comments are closed.