Online News

पत्रकार महासंघ काठमाडौं शाखाको साधारणसभा सम्पन्न

नेपाल यात्रा न्युज संवाददाता
काठमाडौं– नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औं साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा साधारणसभाको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममासमेत समेटिएको बताइन् ।
‘जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौंको पत्रिकामा छापिन्छ । त्यो पत्रिका लिएर विज्ञापनको पैसा लिने तरिका बेठिक छ, यसरी हँुदैन । यसलाई रोक्न आवश्यक परे नियमावलीमा संशोधन गरौं,’ मन्त्री शर्माले भनिन् । एकद्वार प्रणालीमार्फत विज्ञापन वितरण गर्ने नीति बनाउन मन्त्रालयले आवश्यक प्रक्रिया थालेको उनले जानकारी दिइन् ।
पत्रकारिता क्षेत्रमा देखिएका समस्या हल गर्नका लागि सामूहिक छलफल र निष्कर्षबाट अघि बढ्ने उनको भनाइ छ । उनले काठमाडौं शाखाको भवन निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गा अभावका कारण रोकिएकोबारे जानकार रहेको भन्दै यस विषयमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले विज्ञापन, सदस्य शुद्धीकरण, नवीकरण र पत्रकारका लागि निःशुल्क स्वास्थ्य सेवाप्रति मन्त्री शर्माको ध्यानार्कषण गराए । उनले पत्रपत्रिका वर्गीकरणदेखि विज्ञापनका लागि चाकडी गर्नुपर्ने दुःखद् अवस्था रहेको बताए ।
शाखाले उक्त अवसरमा एक लाख राशिको आदर्श पत्रकारिता पुरस्कार–२०७९ बाट वरिष्ठ पत्रकार किशोर नेपाललाई पुरस्कृत गरेको छ । कोभिड–१९ तथा डेंगीका समयमा सहयोग गर्ने विभिन्न संघसंस्था एवं व्यक्तिहरुलाई पनि शाखाले सम्मान गरेको छ ।

Comments are closed.