Online News

परराष्ट्रमन्त्री साउद र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

प्रकाश अधिकारी

३१ बैशाख २०८०, आइतबार

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बंगलादेशको राजधानी ढाकामा उनीहरुबीच आइतबार भेटवार्ता भएको हो ।

भेटमा दुई पक्षीय हितका विभिन्न विषयबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । छलफलको क्रममा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ तुल्याउने, सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा व्यापार, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ ।

ढाकामा आयोजित छैटौँ इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन मन्त्री साउद शुक्रबार ढाका गएका थिए । ढाकामा रहँदा उनले शुक्रबार नै भारतीय समकक्षी एस. जयशंकरसँग भेटवार्ता गरेका थिए । जयशंकरसँगको भेटघाटमा समग्र दुई पक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको साउदले बताए । हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो । भारतीय विदेश मन्त्रालय, इन्डिया फाउण्डेशन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामो सम्मेलन आयोजना भएको थियो ।

परराष्ट्रमन्त्री साउद आजै राति स्वदेश फर्कँदैछन् । बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी भएर स्वदेश फर्किएको दुई दिनपछि उनी बंगगलादेश गएका थिए ।

Comments are closed.