Online News

बलात्कार आरोपित जोगाउन किन श्रीमतीहरू नै लाग्छन् ?

 प्रतिमा सिलवाल

 ख्याउटे ज्यान । बाहिर निस्केको पेट पुटुक्क । सोहाेरिएर फुस्रो देखिएको अनुहार । छिरोलिएको कपाल । यसो अनुहार हेरें, चिनेको होइन । कतै देखभेट थिएन । कसरी आइपुगिन् एक्कासि भेट्न । मसँग एकैछिन चिया पिउने समय मागेका साथीले उनलाई चिनाए ।

चितवन अदालतबाट बालिका बलात्कार अभियोगमा पुर्पक्षको लागि थुनामा गएको एक घटनाका आरोपितकी श्रीमती रहेछिन् । जिल्ला अदालतमा दर्ता भएको मुद्दाको अभियोगपत्र हेर्ने हो भने चितवनमा सार्वजनिक भएका बलात्कारका घटनाहरुमध्ये त्यो सबैभन्दा निर्मम अपराधमध्येमा पर्छ होला ।

यसको मतलब बलात्कार कुनै कम वा कुनै बढी हुन्छ भन्ने होइन । यद्यपि उनका श्रीमानले आफ्नै विद्यार्थीलाई दबाब र प्रभावमा पारी लगातार ८ महिनासम्म बलात्कार गरेको र चुरोटले पोल्ने, कुट्ने जस्ता शारीरिक यातनासमेत दिएको भन्ने स्वास्थ्य जाँच प्रतिवेदनसहितको जाहेरीले यसको गहिराइ अझ प्रस्ट पार्न मद्दत गर्ला ।

त्यस्तो निर्मम यातना दिएर बालिकामाथि बलात्कार गरेको ९ वर्षीया छोरीका बाउका श्रीमतीको मसँग भेटघाट भएको थियो त्यो समय । उनीसँग परिचित भएपछि एक श्रीमतीको रुपमा, छोरीकी आमाको रुपमा, पाँच महिने गर्भावस्थाकी महिलाको रुपमा अनि पीडककी श्रीमतीको रुपमा एकैपटक दर्जनौं प्रश्न मेरो मनमा उब्जिए ।

उनमा झन् के बितिरहेको होला, यस्तो अवस्थामा पनि कहाँ कसलाई भेटेर लोग्ने छुटाउने सहायता मिल्ला भन्दै भौंतारिरहेकी उनको यथार्थले सहजै अनुमान लगाउन सक्थें । यहाँ प्रेमभन्दा बढी पारिवारिक दायित्व पनि थियो सायद ।

सामान्यतया भनिन्छ नि, युद्धमा महिला र बालबालिका सबैभन्दा बढी प्रभावित हुनु सार्वभौम यथार्थ हो । आफ्नै श्रीमती घरमा हुँदाहुँदै, अझ उनको गर्भावस्थाको समयमा उनको ख्याल राख्न छोडेर १४ वर्षकी बालिकालाई दबाबमा राखेर बलात्कार गर्ने त्यो श्रीमान् कस्तो मनोवृत्तिको होला ? अनि तिनकी श्रीमतीले भोग्ने पीडा युद्धमा होमिने लोग्नेका पत्नीहरुले भोग्ने भन्दा कति कम होला र !

मसँग त उनलाई सहानुभूति दिने शब्द पनि थिएन । आफू बलियो बन्नुस् मात्र भन्न सकें । उनी पनि आफूमाथि भएको क्षतिको हिसाब गर्ने अवस्थामा थिइनन् । गर्भ जाँचको लागि अस्पतालमा डाक्टरको समय लिएर बलात्कार आरोपित श्रीमानले पाउनसक्ने सजाय के होला, अनि त्यसलाई कम गराउने उपाय केही हुन्छ कि भन्दै मानिसहरुसँग हारगुहार गर्ने हुलमा भेटिएको एक पात्रमात्र थिएँ म ।

सोचिरहें, कहाँ कहाँ भौतारिइन् होला उनी ? कतिले आश्वासन र लोग्नेप्रतिको नकारात्मक प्रतिक्रियाले उनको मर्ममा कति चोट पुग्ला ? यी सबै पचाएर लोग्ने जोगाउने उपायमा किन कुँदिरहेकी छिन् उनी ?

घटनाको विवरण सुन्ने एउटा स्रोतामात्रै थिएँ म । उनलाई पनि लोग्नेको अपराधमा शंका भए जस्तो लागेन । हुन त आफ्नो जीवन सुम्पेको मानिसले आफैंलाई छोडेर अन्त गयो, अपराध गर्‍यो भन्ने विश्वास कुन श्रीमतीले गर्लिन् !

उनलाई भेटेपछि दक्षिण एसियामै लैंगिक समानताको लागि लामो समय अभियान चलाएकी स्वर्गीय कमला भासिनले सन् २०१९ मा एउटा अन्तर्वार्तामा भनेको कुरा याद आयो । स्वर्गीय कमला भासिनले भनेकी थिइन्, ‘बलात्कार यौन अपराध होइन, यो त शक्तिको उन्माद हो ।’

पक्कै पनि ! यदि ती महिलाका लोग्नेले आमाबुबा, एक छोरी र गर्भवती श्रीमतीसहितको परिवारलाई सुख मानेको भए ! पूर्ण परिवारको बेवास्ता गरेर बालिकालाई यौन शोषण गर्न जानु उसमा जागेको शक्तिकै उन्मादबाहेक अरु के थियो होला र ?

उनले मानसिक, शारीरिक, सामाजिक कति क्षति व्यहोर्नुपर्‍यो वा आफ्नो अपराधले श्रीमती, आमा, छोरी अनि सिंगो परिवारमाथि कति पीडा थपिन्छ त्यो श्रीमानले पहिल्यै सोचिदिएको भए !

यही मुद्दा चलिरहँदा जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका सेवा केन्द्रमा संयोगले चिनजानकै एक महिला सुक्सुकाउँदै गरेको अवस्थामा भेटिइन् । उनको पनि अघिल्लो महिलाकै झैं अवस्था थियो ।

आफैंले आश्रय दिएको १४ वर्षकी बालिकामाथि यौन दुर्व्यवहारको अभियोगमा श्रीमानलाई प्रहरीले हिरासतमा लिएको थियो । अभियोग दर्ता भयो । उनी अहिले अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । तर, ती महिलालाई लाग्छ आफ्नो श्रीमानले त्यस्तो गर्नै सक्दैनन् ।

आफूले बालिकाकै लागि भनेर १३ वर्षदेखि अभियान गरिरहेकी छन् । तर, श्रीमानको व्यवहारले गर्दा उनी स्वयंको सामाजिकस्तरमा कति आघात प¥यो होला ? उनको आँखाबाट खसेका आँसुले त्यतिबेला बोलिरहेको थियो । उनको मनोदशा केही बुझ्न सक्थें म । उनका लोग्नेले आफ्नो दायित्व समयमै बुझेको भए, हारगुहारको आँसु कुनै महिलाले किन बगाउनुपर्दो हो ।

पछिल्लो हप्ताका यी दुई घटनामा श्रीमानलाई निर्दोष सावित गर्न दौडधुप गरिरहेका श्रीमतीहरुका टीठलाग्दा अनुहार प्रतिनिधि पात्रमात्रै हुन् । मैले यौनजन्य अपराधका पीडकहरुका केही परिवारका महिला सदस्यलाई भेटघाट गर्दा उनीहरुको महिला हुनुको थप पीडाबोध गर्ने गरेको छु ।

हुन त बलात्कारको सामाजिक र मनोविज्ञानको अन्य पाटो हेर्ने फरक फरक दृष्टिकोण होला । तर, लोग्नेले गरेको अक्षम्य अपराधमा आफ्नो जिन्दगीको सबैखाले क्षति व्यहोरिसकेपछि पनि उनैलाई जोगाउन श्रीमतीहरु नै किन लागिपर्छन् ?

अधिकांश यौन अपराध घटनाका आरोपितहरुको सजाय कम गर्ने पहल होस् वा अपराध होइन भनेर स्थापित गर्ने प्रमाण जुटाउने दौडधुपमा महिला सदस्यहरु नै अगाडि आएका भेटिन्छन् । सायद उनीहरुको पारिवारिक दायित्व र बाध्यता पनि होला ।

उनीहरुका ती अनुहारहरु पढेपछि मलाई भने मुलुकी देवानी संहिता २०७४ को दफा ९४ (घ) को याद आउँछ । जहाँ पतिले सम्बन्ध विच्छेदको लागि उजुरी गर्न सक्ने अवस्थाहरुको उल्लेख गर्दै भनिएको छ, ‘पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरिएमा ।’

यही बुँदालाई थप व्याख्या गर्दै दफा ९९ (६) ले ९४ (घ) अर्थात् पत्नीले अन्य पुरुषसँग सम्बन्ध राखेको ठहर भएमा अंश दिनु नपर्ने अर्थात् विवाहित महिलाको लोग्नेको घरको सम्पत्तिमा हकदाबी नलाग्ने व्यवस्था गरेको छ ।

महिला आरोपित भए लोग्नेले लात्ती बजाएर छोड्न मिल्ने कानूनी व्यवस्था । अनि अपराधी स्थापितै भए पनि उसैको उन्मुक्तिको लागि दौडधुप गर्न तम्तयार हुने परिवारका महिला सदस्य, कति फरक रहेछ महिला र पुरुष हुनुमा ।

हुन त बलात्कारको सामाजिक र मनोविज्ञानको अन्य पाटो हेर्ने फरक फरक दृष्टिकोण होला । तर, लोग्नेले गरेको अक्षम्य अपराधमा आफ्नो जिन्दगीको सबैखाले क्षति व्यहोरिसकेपछि पनि उनैलाई जोगाउन श्रीमतीहरु नै किन लागिपर्छन् ? समाजको संरचनामा गाडिएर बसेको पितृसत्ताले निम्त्याएको असमान शक्ति सम्बन्धको उदाहरण यो भन्दा माथि के होला ?

नेपाल प्रेसबाट साभार

Comments are closed.