Online News

बलियो भियतनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । तर भियतनामविरुद्ध पहिलो लेगमा निकै खराब प्रदर्शन गरेको नेपालले आज दोश्रो खेलमा सुधारिएको प्रदर्शन गरेको छ ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा सुरुमै ७ मिनेट भित्र   २ गोल खाएको नेपाल २-० ले नै पराजित भयो । पहिलो खेलमा नेपाल ५-१ ले पराजित भएको नेपाल ७-१ को नतिजासँगै ओलम्पिक २०२४ को महिला फुटबल छनोटबाट बाहिरियो ।

बुधबार भएको पहिलो खेलको तुलनामा आज शनिबार नेपालले सुधारिएको खेल प्रदर्शन गरे पनि भियतनामसँगको हार टार्न सकेन । खेलको छैटौं मिनेटमा भियतनामले पाएको पहिलो कर्नरमा पोष्टमा अलमल हुँदा पाम हाइ यानले गरेको फितलो प्रहार गोल भयो ।

त्यसको एक मिनेट पनि नबित्दै खेलको सातौं मिनेटमा तान थि थु था ओले गरेको पासमा पुन यानले नै गोल गरिन् ।

७ मिनेटमै दुई गोलले पछि परे पनि त्यसपछि नेपालले सुधारिएको प्रदर्शन गर्‍यो र भियतनामलाई थप गोल हुनबाट रोक्यो ।

तर केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न भने नेपालले सकेन । खेलको ३० औं मिनेटमा विमला चौधरीले मिलाएको पासमा सावित्रा भण्डारीले गरेको प्रहार गोलरक्षकले बचाइन् ।

खेलको ३९ औं मिनेटमा सरुले दिएको लङ पासमा सावित्रा भण्डारीले गरेको सटअन तार्गेट पुन किपरले उत्कृष्ट बचाउ गरिन् ।

दोस्रो हाफमा नेपालले गोलकिपर परिवर्तन गरियो । एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना राना मगर मैदान प्रवेश गरिन् ।

खेलको ६६औं मिनेटमा पेनाल्टी बक्समा विमला चौधरीले दिएको पासमा दिपा शाहीको प्रहार पहिलो बारमा लाग्दै बाहिरिएको हो ।

खेलको ८७ औ मिनेटमा सरुले दायाँ कर्नरमा दिएको पास विमला चौधरीले समयमा सदुपयोग नगर्दा भियतनामका डिफेन्डरले क्लियर गरिदिए ।

Comments are closed.