Online News

विश्वकप लिग- २ मा नेपालको अविश्वसनीय कमब्याक, पछिल्ला १० मध्ये ९ खेल जित्दै शीर्ष ४ मा उक्लियो

फागुन २८  २०७९

काठमाडौं । लिग- २ को दौडमा पछि परेको नेपालले एकदिवसीय मान्यता नै गुमाउने संघारबाट अविश्वसनीय पुनरागमन गरेको छ । आज यूएईविरुद्ध दबदबापूर्ण जीत हासिल गर्दै नेपाल लिग- २ को शीर्ष ४ मा उक्लियो र आगामी चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित तुल्यायो ।

विश्वकप लिग- २ क्रिकेटमा पछिल्ला तीन त्रिदेशीय श्रृंखला खेल्नुअघि नेपाल दयनीय अवस्थामा थियो । तालिकाको छैंटौ स्थानमा रहेको नेपालले ओडीआई मान्यता जोगाउन बाँकी रहेका १२ खेलमध्ये १० खेल जित्नैपर्ने दबाब थियो । विश्वकपको ग्लोबल क्वालिफायरको यात्रा त सम्भव नै देखिएको थिएन ।

तर, पछिल्ला १० खेलमध्ये ९ वटामा जीत दर्ता गर्दै नेपालले ओडीआई स्टाटस जोगाएको हो । अब अन्तिमका दुई खेलमा पनि जीत हासिल गरे नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।

यसअघि १७ अंकले अगाडि रहेको अमेरिकालाई पछि पार्दै नेपाल शीर्ष चारमा उक्लिएको हो । आजको जीतसँगै लिग- २ का ७ टोलीमध्ये नेपाल कम्तिमा चौथो स्थानमा रहने पक्का भएको छ ।

प्रतियोगिताको आफ्नो अन्तिम श्रृंखलामा घरेलु मैदानमा उत्रिरहेको नेपालले लगातार दुई जीत हात पारेको छ । पहिलो खेलमा पपुआ न्युगिनी (पीएनजी)लाई हराएको नेपाली टोलीसामु आइतबार यूएई निरीह बन्यो ।

नेपालले ३४ खेलबाट ३६ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ । तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । नेपालले अब पीएनजी र यूएईसँगका बाँकी एक-एक खेल जितेको अवस्थामा तेस्रो स्थान उक्लिँदै एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउनेछ । उक्त क्वालिफायरमा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बावेसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वस्तरको छनोटबाट शीर्ष दुई टोलीले एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । नेपालले एकदिवसीय विश्वकपको विश्वस्तरको छनोट यसअघि दुईपटक खेलिसकेको छ । तर, अहिलेसम्म विश्वकपको यात्रा तय गर्न सकेको छैन ।

चार साताअघि घरेलु मैदानमा आयोजना भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित श्रृंखलाका चार वटै खेल नेपालले जितेको थियो । त्यही श्रृंखलामा नामिबियालाई हराएको स्कटल्यान्ड प्रतियोगिताको विजेता बन्ने पक्का भएको थियो ।

त्यसपछि विश्वकप लिग-२ को आफ्नो आठौं त्रिदेशीय श्रृंखला खेल्न यूएई पुगेको नेपालले त्यहाँ चारमध्ये तीन खेल जित्न सफल भयो । पीएनजीसँगका दुवै खेल नेपालले जितेको थियो भने यूएईसँग एक जीत र एक हार ब्यहोरेको थियो ।

नेपालमा तीन साताअघि आयोजित शृंखलाअघि नेपालले विश्वकप लिग-२ का शृंखला विभिन्न देश पुगेर खेलेको थियो। प्रतियोगिताको आफ्नो पहिलो शृंखला नेपालले सन् २०२० मा खेलेको थियो। सन् २०२० को फेब्रुअरीमा ओमान र अमेरिका सम्मिलित शृंखला घरेलु मैदानमा खेल्याे । ओमानसँगका दुवै खेलमा नेपाल पराजित भएको थियो भने अमेरिकालाई दुवै खेलमा हराएको थियो।

त्यसपछि यी तीनवटै टोली सन् २०२१ को सेप्टेम्बरमा ओमानमा भिडेका थिए। नेपालले दुवै टोलीसँग समान एक जित र एक हारको नतिजा निकालेको थियो। सन् २०२२ को मार्चमा नेपाल, पीएनजी र यूएईबीच प्रतिस्पर्धा भएको थियो। यूएईमा भएको त्यस शृंखलामा नेपालले पीएनजीविरुद्धका दुवै खेल जितेको थियो भने यूएईसँगका दुवे खेलमा पराजित भएको थियो।

गत जुनमा अमेरिकामा आयोजित शृंखलामा नेपाल र घरेलु टोलीबाहेक ओमान पनि थियो। नेपालले ओमानसँग एक जित र एक हार ब्यहोरेको थियो । अमेरिकासँग एक खेल बराबरी भएको थियो भने एक खेल हारेको थियो। त्यसै वर्षको जुलाईमा स्कटल्यान्डमा नामिबिया, नेपाल र स्कटल्यान्डले प्रतिस्पर्धा गरेका थिए। शृंखलाका आफ्ना चार खेलमा नेपालले नामिबियासँगका दुवै खेलमा हार ब्यहोरेको थियो भने स्कटल्यान्डसँग एक जित र एक हारको नतिजा निकालेको थियो।

गत डिसेम्बरमा नामिबियामा भएको शृंखलामा नेपाल र स्कटल्यान्डले पनि प्रतिस्पर्धा गरेका थिए। त्यहाँ नेपालले नामिबियासँगको एक खेल रद्ध भएपछि अंक बाँडेको थियो भने अर्को खेलमा पराजित भएको थियो। यस्तै स्कटल्यान्डसँगका दुवै खेलमा पराजित भएको थियो।

Comments are closed.