Online News

उर्लाबारी रन २०८१ः पारा एथलिटका कार्कीको हातमा भेट्रानतर्फको उपाधि

काठमाडौं । नवौं संविधान दिवसको अवसरमा पारेर उर्लाबारी रन–२०८१ को सातौं संस्करणको भव्यताका साथ सम्पन्न भएको छ । सामुदायिक विकास मञ्चद्वारा आयोजित सो रनमा छिमेकी मुलुक भारतका समेत धावकहरुको उपस्थिती रहेको थियो । यसैबिच १० कि.मी. पुरुष भेट्रानतर्फको विधामा दोलखा जिल्लाको जिरी नगरपालिका वडा नम्बर ८ खावा पखेरेका ४१ वर्षिय पारा एथलिट नवराज कार्किले उपाधि जितेका छन् । उनले सो दुरी ४२ मिनेट ७ सेकेण्डमा पुरा गरेका थिए । उनलाई १० हजार नगदसहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
उता दौडमा सहभागि भई भेट्रानको उपाधि जितेपछि उपस्थित सम्पुर्णको ध्यान पारा एथलिट नवराज कार्कीमा गएको थियो किन भने उनी शारीरिक रुपमा अशक्त थिए । उनको दाहिने हात नै थिएन । सामान्य परिवारका कार्कीको शारीरिक अशक्तता प्राकृतिक जन्मको कारण होईन । वि.सं. २०६१ सालमा कङ्क्रिट बालुवा उद्योगमा मजदुरी गर्ने क्रममा उनको हात मिक्स्चर मेसिनमा च्यापिएकोले दाईने हात गुमेको थियो । १३ वर्षदेखी रनमा आवद्ध पारा पारा एथलिट्स खेलाडी कार्कीले काठमन्डौं म्याराथोन , नेपाल आर्मीको हाफ म्याराथोन, नेपालगञ्ज रन, लुम्बिनी पिस म्याराथोन , खोटान रन, सिक्किम रन, तरहरा रन , धरान रन ,चितवनको रोटरी रन लगातका १ सय भन्दा बढि रनमा सहभागिता जनाएका छन् । यस्तै उनले राष्ट्रिय स्तरको बाग्मती प्रदेश रन र अन्तर्राष्ट्रिय स्तरको काठमान्डौ म्याराथोनमा सहभागिता जनाएका छन् ।
१ छोरा , १ छोरी र श्रमतीसँग बस्दै आएका कार्की आफ्नो आम्दानिको थप स्रोत केहि नभएको बताउछन् । उनकाअनुसार गृहजिल्ला र आसपासका क्षेत्रहरुमा आयोजना हुने प्रतियोगितामा कोचको रुपमा काम गर्दै पारिश्रमिक लिएर मुस्किलले उनी गुजारा गरिरहेको बताउछन् । यस्तै उनले आफुलाई न राज्यले ,न पाराओलम्पिक कमिटी, न स्थानिय तह न कसैले , हालसम्म पनि केहि सहयोग नगरेको बताउछन् । यता उनी विजेता भएतापनि पुरस्कार राशी भने एकदमै कम भएकोमा गुनासो व्यक्त गरे । उनले भने,” यो खेलको लागि हामी ५ जना उर्लाबारी आएका थियौँ । आयोजकले खाने र बस्नेको व्यवस्था मिलाएको थियो । यो पुरस्कारले त हाम्रो सामान्य खर्च समेत उठेन । सकिन्छ भने अर्को संस्करणदेखी पुरस्कार राशी बढाउन सुझाव दिन चाहान्छौँ । ” यस्तै उनले आफु पारा एथलिट्स खेलाडी भएको दशकौँ भैसकेतापनि हालसम्म पनि पारा ओलम्पिक्समा सहभागि हुन नपाएको दुखेसो व्यक्त गरे ।


के हो पारा एथलिट ?
पारा एतलिट शारीरिक वा मानसिक अपांगताका बाबजुद विभिन्न खेलकुद प्रतियोगिताहरूमा सहभागी हुने खेलाडीहरू हुन् । उनीहरुले “प्यारालिम्पिक्स” जस्ता अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरूमा भाग लिन्छन्, जसको उद्देश्य अपांगता भएका व्यक्तिहरूलाई खेलकुद मार्फत सशक्तीकरण, सम्मान, र अवसर प्रदान गर्नु हो ।
पारा एथलिटहरूले सशक्तीकरण र प्रेरणाको उदाहरण प्रस्तुत गर्छन्, जसले समाजमा अपांगता भएकाहरूको क्षमता र सम्भावनाहरूलाई प्रकट गर्दछ। उनीहरूले आफ्नो अनुशासन, आत्मबल, र मेहनतका माध्यमबाट सबैको लागि प्रेरणादायी उदाहरण स्थापित गर्छन् ।

Leave A Reply

Your email address will not be published.