Online News

अध्यक्ष ओली सहभागी कार्यक्रम बिथोल्न खोजियो : एमाले सचेतक पदम गिरी

सुमन सुवेदी

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रम बिथोल्न खोजिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले झापामा आयोजित कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने क्रममा अवाञ्छित गतिविधि गरिएको बताए ।ओली बुधाबर मात्रै झापा गएका छन् । पार्टीका कार्यक्रममा सहभागी हुन उनी झापा गएको र झापाको बुधाबारेमा आयोजित कार्यक्रममा सत्तापक्षका राजनीतिक दलका कार्यकर्ताले त्यस्तो गरेको गिरीको आरोप छ ।

‘भद्रपुर विमानस्थलबाट कार्यक्रम स्थल बुधबारेसम्म जाने क्रममा कार्यक्रम स्थलमा पुग्नैलाग्दा कार्यक्रम स्थलभन्दा बाहिर बसेर हाम्रो पार्टीको अध्यक्षलाई त्यहाँ बाहिरबाट होहल्ला गर्ने, कार्यक्रम बिथोल्नका लागि अवान्छित गतिविधि गर्ने, शान्ति भंग गराउने खालका गतिविधि भएका छन्,’ उनले भने, ‘एमाले नेतृत्व कार्यक्रममा जाँदा ढुंगामुढा गर्ने, कार्यक्रम गर्न कोसिस गरिन्छ । अनेकन ढंगले कार्यक्रम भाँड्ने कोसिस गरिन्छ । अशान्ति पैदा गर्ने कोसिस गरिन्छ र त्यसमा सत्तापक्षकै कार्यकर्ता घूसपैठ गरिएको छ र सहभागी गराउने काम हुन्छ ।’

 

शान्ति स्थापना गर्ने दायित्व सरकारको भएको गिरीको भनाइ छ । उनले सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए । ‘मुलुकमा शान्ति स्थापना गर्ने दायित्व सत्तापक्षको हो कि होइन ? जिम्मेवार हुनुपर्छ कि पर्दैन ? हामी प्रतिपक्षमा बसेर अन्याय सहनुपर्ने कुनै जरुरत छैन,’ उनले भने । एमाले अध्यक्ष ओली केही दिनका लागि पूर्वी नेपालमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन गएका छन् ।

Comments are closed.