Online News

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकाे प्यारो गाउँ गुराँसे

 २०७९ फागुन २९ गते १९:४८

आफ्नो जन्मभूमि कसलाई पो प्यारो हुँदैन र ? तोते बोली बोल्दै आफ्ना आमाबाबाको औंला समाउँदै पाइला सार्न सिकेको आँगन कसले पो भुल्न सक्छ र ? टुकु-टुकु हिँड्दै वल्लो आँगन, पल्लो आँगन र बगैंचामा घुमेका ती पलहरु कति यादगर हुँदा हुन् आज पनि ।

समयको अन्तराल जति नै लामो किन नहोस् ? अवस्था, परिस्थिति र भूमिका जेसुकै किन नहोस् ? आखिर मन त मनै हो नि ! भौतिक शरीर जहाँसुकै किन नपुगोस् । तर पनि मनभित्र पत्रैपत्र बनेर रहेका अनगिन्ती स्मृतिका कोलाजहरु आँखामा घुमिरहन्छन् ।

हो, त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको स्मृतिमा सधैं घुमिरहने एउटा सुन्दर ठाउँ हो, नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको ‘गुराँसे’ । त्यही गुराँसेकै एउटा सानो गाउँ हो- राष्ट्रपति विद्यादेवीको जन्मथलो ‘आम्बोटे’ ।

आम्बोटेबाट पश्चिमतर्फ ठूलो गोल्मेभिर छ । जसलाई गोल्मेराजा गोल्मेरानी पनि भनिन्छ । त्यही भिरको नजिकै धोदले खानी गाउँ छ । अलि पर पूर्व–दक्षिणमा हतुवागडी दरवार छ । उत्तरतर्फ नामन्त, दलगाउँ र भूल्केगाउँ पर्छन् भने पश्चिममा वास्तिम र होमताङ्ग गाउँ पर्छन् । भोजपुर बजारबाट दक्षिण-पश्चिमतर्फ अलि टाढा पहारिलो डाँडाको काखमा अवस्थित एउटा सुन्दर गाउँ हो गुराँसेको ‘आम्बोटे’ । अहिले त्यो गुराँसे भन्ने ठाउँ मानेभञ्ज्याङका नामले परिचित छ । डाँडैभरि गुराँसैगुराँसको बोटले ढाकेको भएर पनि होला गुराँसे नामकरण भएको । भोजपुरको मानेभञ्ज्याङ्ग अहिले रामप्रसाद राई गाउँपालिकामा पर्छ ।

शिक्षा र चेतनासँगै आर्थिक, सामाजिक र सांस्कृतिक हैसियतले समेत समाजमा उच्च प्रतिष्ठित मानिएका गुराँसेका पाँडे कुलमा २०१८ साल असार ५ गते हजुरबुबा तिलकबहादुर पाँडेका आठ भाइछोरामध्येका माइला छोरा रामबहादरु पाँडे र बुहारी मिथिला पाँडेका पाँच सन्तानमध्येकी पहिलो सन्तान हुनुहुन्छ राष्ट्रपति विद्यादेवी ।

विद्यादेवीका हजुरबुवा तिलकबहादुर पाँडे त्यही जमानामा शिक्षाप्रेमी समाजसेवी हुनुहुन्थ्यो । काठमाडौंको ढोकाटोलबाट कक्षा ५ सम्मको अध्ययन गरेका उहाँले घरायसी व्यवहार र दायित्वलाई बहन गर्दै उच्च शिक्षा अध्ययनको मोहलाई अधुरै छाड्नुभएको थियो । त्यतिवेला आफ्नो अधुरो धोको सन्तानबाट पूरा हुने आशा संगाल्दै उहाँले आफ्ना सन्तानलाई राजधानी काठमाडौंसम्म पठाएर पनि पढाउनुभएको थियो । तर, अरु विपन्न र साधारण जनताका छोराछोरीले पनि शिक्षा र चेतनाको अवसर पाउनुपर्छ भन्ने भावनाले उहाँलाई पिरोलिरह्यो ।

भोजपुर बजारबाट दक्षिण-पश्चिमतर्फ अलि टाढा पहारिलो डाँडाको काखमा अवस्थित एउटा सुन्दर गाउँ हो गुराँसेको ‘आम्बोटे’ । अहिले त्यो गुराँसे भन्ने ठाउँ मानेभञ्ज्याङका नामले परिचित छ । डाँडैभरि गुराँसैगुराँसको बोटले ढाकेको भएर पनि होला गुराँसे नामकरण भएको ।

त्यो पिरलोलाई शान्त पार्न उहाँले २०१६ सालमा आफ्नै आँगनमा अर्को सानो घर बनाएर गाउँका बालबालिका जम्मा पारेर लेखपढ गराउन थाल्नुभयो । त्यो क्रमलाई व्यवस्थित गर्न केही समयमै भोजपुर टक्सारका छत्रमान शाक्यलाई शिक्षकको रुपमा ल्याएर गाउँका अरु बालबालिका बटुलेर पढाउन लगाउनुभयो । त्यसै वर्ष २०१६ सालमा भोजपुरको विद्योदय माविबाट प्रवेशिका परीक्षा दिएर घर फर्कनुभयो माइला छोरा रामबहादुर पाँडे ।

२०१६ जेठमै भोजपुरकै फालीकोट निवासी जिम्वुवाल निलबहादुर कार्कीकी कान्छी छोरी मिथिलादेवीसँग रामबहादुरको विवाह भएको थियो । उहाँले प्रवेशिका परीक्षाको परिणाम पर्खाइको क्रममा केही समय घरमा रहँदा आफ्ना बुबा तिलकबहादुरको शैक्षिक जागरणको अभियानमा सहयोग पुर्‍याउनुभयो । २०१६ बाट बुबाले आफ्नै घरैमा गाउँका केटाकेटी भेला गराएर पढाउन सुरु गरेको अभियानलाई उहाँले २०१८ सालमा ‘ताती स्कूल’को नामले औपचारिकता दिनुभयो । त्यसै वर्ष उहाँको पहिलो सन्तानको रुपमा छोरी विद्यादेवीको पनि जन्म भयो ।

त्यही ताती स्कूललाई २०१९ सालमा उहाँले नै बेहेश्वर प्राथमिक स्कूलको नाममा स्वीकृत गराउनुभयो । यसरी त्यो दुर्गम गाउँमा रहेका सम्पन्न, हुनेखाने मुखिया, जसका सन्तान सहजै राजधानीमा उच्च शिक्षा हासिल गर्दै थिए- तर अवसरबाट बञ्चित गाउँका साधारण जनताका नानीहरुले समेत शिक्षा र चेतनाको अवसर पाउनुपर्छ भन्ने मनसायले उहाँहरुकै पहलमा त्यो विद्यालयको स्थापना भयो । त्यसपछि गाउँका बालबालिका विद्यालय जाने क्रम सुरु भयो ।

यता २०१७ सालपछि प्रजातन्त्रमाथि प्रतिबन्ध लागेर निर्दलीय पञ्चायती व्यवस्थाले गाउँमा हलचल ल्याएको थियो । पञ्चायतको विरोध गरे झ्यालखाना जानुपर्ने कि भारत प्रवास जानुपर्ने या त भूमिगत हुनुपर्ने । होइन भने पञ्चायतलाई समर्थन र सहयोग गर्नैपर्ने बाध्यता थियो । राणाकालदेखिका प्रजातन्त्रप्रेमी, २००७ सालका कांग्रेसका हर्ताकर्ता गनिएका तिलकबहादुरको त्यतिवेलाको अन्तिम विकल्प पञ्चायतमा लाग्नु नै भयो । आफ्नो भएको जेथामेथा जोगाउँदै, परिवारको संरक्षण गर्दै बस्न सहमत भएका समाजसेवी मुखिया तिलकबहादुर २०१७ सालको चुनावपछि निर्विरोध गुराँसे गाउँ पञ्चायतको प्रधानपञ्च हुनुभयो ।

२०२८ सालमा मात्र ३३ वर्षकै उमेरमा विद्यादेवीका बुबा रामबहादुरको अकस्मात देहावसान भयो । जेठी छोरी विद्या मात्र दश वर्षकी, साथमा अरु चार भाइबहिनी । पाँच सन्तानकी आमा ३१ वर्षीया मिथिलाका सामु अकल्पनीय चुनौतीको पहाड खडा भयो ।

गाउँमा विद्यालयको स्थापनासँगै रामबहादुर फेरि आफ्नो अध्ययनलाई अगाडि बढाउन वामे सर्दै गरेकी छोरीलाई मुटुभित्र राखेर घर छाडेर हिँड्नुभयो । त्यतिवेला उच्च शिक्षाका लागि धरान या काठमाडौं जानुपर्थ्यो । उहाँले पनि धरानबाट प्रवीणता तह पास गरेर काठमाडौंको त्रिचन्द्र कलेजमा स्नातक तहको अध्ययन गर्नुभयो । २०२५ सालमा स्नातक तहको अध्ययन पूरा गरेर भोजपुरकै कुलुङ्गमा प्रधानाध्यापकको रुपमा अध्यापन सुरु गर्नुभयो ।

त्यतिवेलासम्म आफ्नै बुबा रामबहादुरको पहलमा स्थापित बेहेश्वर प्राथमिक स्कूलमा विद्यादेवीको अध्ययन सुरु भइसकेको थियो । उखान छ, ‘हुने विरुवाको चिल्लो पात ।’ अहिले पनि आम्बोटेका पाकाहरु भन्छन्, ‘सानैदेखि असल स्वभावकी, रसिली थिइन् विद्या नानी । मुखियाकी छोरी भएर पनि कहिल्यै घमण्ड गरिनन् । वरपरका सबैलाई माया गर्ने असाध्यै ज्ञानी, आँखैमा हाले पनि नबिझाउने थिइन् विद्या नानी !’

पहाडी गाउँको सम्पन्न परिवार । सामाजिक मानप्रतिष्ठा, आर्थिक सम्पन्नता । सामान्यभन्दा विशिष्ट जीवन भोगाइका माझमा हुर्किरहेकी एउटी बालिका । पहारिलो आँगन । आँगनका डिलमा रंगीबिरंगी फूलहरु । आँगनैमुनि झ्यालैबाट टिपु झैं लाग्ने जामुनाको बोट । घरै पछाडि वेलको बोटमा लहरिएर झांगिएको अंगुरका झुप्पा । अलि तलतिर कान्लामा लटरम्मै फलेको नास्पाती । आँप, लिच्ची, कटहर, कागती, भोगटे, दारिम, अनार, सुन्तला, अम्बा, आल्चा, आरुबखडा र हरेक चाडवाडमा कहिल्यै नटुट्ने केराको घारी । दूधदही खान गोठभरि गाईभैंसी । टाट्नाभरि खसीबाख्रा । तबेलामा घोडा । सबै कुरा पुगिसरी । त्यो आनन्दमय बालापनमा थिएन अभाव कुनै कुराको । त्यसैगरी सबैको माया र लाडप्यार छुनमुनाउँदै बितिरहेका थिए सुखद दिनहरु । आफूलाई पछ्याउँदै, हुर्किंदै थिए भाइबहिनीहरु पनि ।

तर, विद्यादेवीको त्यो सुखद बालापनमा अकल्पनीय बज्रपात भइदियो । कसलाई थाहा र कतिवेला के हुन्छ ? सबैलाई राम्रै मन पर्छ । भनाइ छ, दैवलाई पनि राम्रै चाहिन्छ अरे ! त्यस्तै भयो पाँडे परिवारका सात भाइछोरामध्ये असल, समझदार, सहयोगी, सेवामुखी, सचेत र शिक्षित माइला छोरालाई दैवले खोस्यो । २०२८ सालमा मात्र ३३ वर्षकै उमेरमा विद्यादेवीका बुबा रामबहादुरको अकस्मात देहावसान भयो । जेठी छोरी विद्या मात्र दश वर्षकी, साथमा अरु चार भाइबहिनी । पाँच सन्तानकी आमा ३१ वर्षीया मिथिलाका सामु अकल्पनीय चुनौतीको पहाड खडा भयो ।

विद्यादेवीलाई बुवा बितेको केही समयमा काइँलो काका नरेन्द्रबहादुरले थप पढाइको लागि भोजपुरबाट नेपालगञ्ज लैजानुभयो । तर, एकल आमा र साना भाइबहिनीबाट टाढा रहन नसकेर नेपालगञ्जमा कक्षा ५ को अध्ययन सकेर भोजपुर घर फर्किएकी विद्यादेवीले थप अध्ययन गर्न पुनः आफ्नो गाउँ आम्बोटे छाड्न पर्‍यो ।

जतिसुकै सम्पन्न भए पनि, जस्तै सचेत र शिक्षित भए पनि, जति नै सुविधा भए पनि पत्नीका लागि पतिको देहावसान र सन्तानका लागि पिताको अवसान कति पीडादायी र अपुरणीय हुन्छ भन्ने देखेर र सुनेरमात्र व्यहोर्नेको पीडा कसलाई पो थाहा हुन्छ र ? अहिलेको समाजमा पनि हामी कल्पनासम्म गर्न सक्दैनौं त्यो परिस्थितिको । त्यतिवेला अझ दुर्गम पहाडी गाउँ, यौवना उमेरकी विधवा र उनले सम्हाल्नुपर्ने पाँचवटा नाबालकको जिम्मेवारी । त्यसरी सुरु भयो विद्यादेवीको आमा र सन्तानहरुको संघर्षमय जीवन ।

सजिलो बाटो त सबै हिँड्छन्, अप्ठ्याराहरुमा साहसीमात्र हिँड्छन् । त्यो अप्ठ्यारो र चुनौतीलाई सामना गर्ने साहसकी प्रतिमूर्ति बनेर उभिनुभयो मिथिला आमा । अनि आरम्भ भयो मिथिला आमाको चुनौतीको यात्रा । त्यो कठिन यात्राका सहयात्री ती नाबालक लालाबाला । त्यतिवेलाको गाउँले समाज ! भर्भराउँदो उमेरकी विधवा बुहारी ! छुट्टी-भिन्न भएर बसेको परिवार ! सामन्ती मूल्य-मान्यता र संस्कारग्रस्त मानसिकता ! परिवारले अभिभावक गुमाएको अवस्था ! समाजमा उखान छ- ‘ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ ।’ त्यतिखेरको परिवेश, चिन्तन, संस्कार, सामाजिक व्यवहार मिथिला आमालाई पनि के के आइपरेन होला ?

परिवारमा केही सहयोग गरौं भन्ने भावनाले बेहेश्वरमै अध्ययन गरिरहेकी भतिजी विद्यादेवीलाई बुवा बितेको केही समयमा काइँलो काका नरेन्द्रबहादुरले थप पढाइको लागि भोजपुरबाट नेपालगञ्ज लैजानुभयो । तर, एकल आमा र साना भाइबहिनीबाट टाढा रहन नसकेर नेपालगञ्जमा कक्षा ५ को अध्ययन सकेर भोजपुर घर फर्किएकी विद्यादेवीले थप अध्ययन गर्न पुनः आफ्नो गाउँ आम्बोटे छाड्न पर्‍यो । भर्खरै अभिभावक गुमाएको परिवार, घरबाट पढ्न पठाउने ठाउँ छैन । संरक्षण गर्ने अरु ठूला दाजुदिदी छैनन् । छोरीको पढाइ अब कसरी अगाडि बढाउने आमाका अगाडि अर्को चिन्ता चुनौती आयो ।

तर, सचेत आमा मिथिलाले जस्तोसुकै परिस्थिति भए पनि छोरीलाई शिक्षाबाट विमुख गराउनु हुँदैन भन्ने अठोटका साथ १२ वर्षे विद्यादेवीलाई आफ्नो गाउँबाट टाढै भए पनि डेरा बसाएर पढाउने निधो गर्नुभयो । त्यसैअनुसार घरबाट भरियालाई खाजा-चामल, ओढ्ने-ओछ्याउने बोकाएर छोरीलाई भुल्के पुर्‍याउनुभयो । आम्बोटेबाट एक-डेढ घण्टा उत्तरतर्फको ओरालो झरेपछि बेहेरे खोला भेटिन्छ । बेहेरे तरेपछि बेहेश्वर शिवजीको रुपमा पुजिने ठूलो शिला भेटिन्छ । त्यहीबाट बायाँतर्फको उत्तर झण्डै एक-डेढ घण्टा उकालो चढेपछि पुगिन्छ नामन्त केराबारी भन्ने गाउँ । त्यहाँबाट एक घण्टा बायाँ तेर्सै तेर्सो हिँडेपछि ‘भुल्के’ गाउँ आउँछ । त्यही गाउँमा रहेको भुल्के निमाविबाट विद्यादेवीको कक्षा ६ र ७ को अध्ययन पूरा भयो । त्यसपछि विद्यादेवीको माध्यमिक शिक्षा भोजपुर सदरमुकामको विद्योदय माध्यमिक विद्यालयबाट पूरा भयो ।

२०३७ सालमा मोरङ क्याम्पसमा स्नातक अध्ययन सुरु गर्नुभएकी विद्यादेवी पुनः त्यहीको महिला र विद्यार्थी आन्दोलनमा समाहित हुनुभयो । आन्तरिक रुपमा अनेमसंघ र बाह्य रुपमा अनेरास्ववियूमा आवद्ध भएर संगठनको काम गर्दागर्दै उहाँको तत्कालीन मालेका नेता सागर (मदन भण्डारी)सँग भेट हुन्छ ।

‘गहुँगोरो वर्णकी, नीलो जामा लगाएकी, मिजासिली, कम बोल्ने, असाध्य शालिन र आज्ञाकारी स्वभाव थियो विद्याको । नयाँ कुरा केही जानौं, केही सिकौं र केही बुझौं भन्ने जिज्ञासु र मेहनती थिइन् । आज त्यो पल सम्झँदा आफूले माया गरेकी असल छात्रा राष्ट्र प्रमुख हुनुको सुखद अनुभूतिले मन आल्हादित हुन्छ’, विद्योदय पुराना शिक्षक चन्द्र उदास भन्छन् ।

विद्यादेवीको माध्यमिक तहको अध्ययनसँगै राजनैतिक चेतनाको पनि आरम्भ हुन्छ । गाउँको सामन्त मुखिया परिवारकी छोरी भएर पनि आफ्नै स्वभाव र भावनाको कारण फरक धार र वर्गीय चेतनाको विकास हुन्छ । अध्ययनकै क्रममा तत्कालीन माले नजिकको विद्यार्थी संगठन अनेरास्ववियू र महिला संगठन अनेमसंघमा आवद्ध भएर विभिन्न राजनैतिक गतिविधिमा सामेल हुने क्रम सुरु भइसकेको थियो । २०३४ सालमा प्रवेशिका परीक्षा दिएर भोजपुर क्याम्पसबाटै प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गर्दा उहाँमा राजनैतिक निखार आइसकेको थियो । २०३६ सालमा उहाँ तत्कालीन नेकपा माले आवद्ध अनेरास्वियूको भोजपुर जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो ।

भोजपुरमा डेरा गरी बस्दा त्यो बाल्यकालमा आमा र साना भाइबहिनीको सम्झनाले मन कति चिमोट्थ्यो होला ? प्रत्येक बिहानी दक्षिण-पश्चिमतर्फ अवस्थित टाढाको आफ्नो गाउँ गुराँसेतर्फ फर्कंदा पलपलमा उडेर पुगिहालुँ झैं हुन्थ्यो होला । तर, मन लाग्नेबित्तिकै घर पुग्न कहाँ त्यति सजिलो थियो र ? भोजपुर बजारबाट दक्षिण ओरालो टक्सारको सिरानबाट पुरानो डबली, कोटडाँडा, मालवाँसे हुँदै फटाफट झण्डै दुई घण्टा पैदल ओरालो झरेर पिखुवा-बेहेरे दोभान पुगिन्छ । बेहेरे दोभानबाट दाहिने खोलैखोला पश्चिम लागेर बेहेश्वर मन्दिरभन्दा केही तलबाट बायाँतर्फको उकालो सल्लाघारी हुँदै अरु दुई घण्टा हिँडेर बल्ल गुराँसेको आम्बोटे भन्ने गाउँ पुगिन्छ ।

स्कूल बिदामा आमा र भाइबहिनी सम्झिएर हाम्फाल्दै घर जाँदा पो अलि सहज हुन्थ्यो त ! घरबाट सबैलाई छाडेर फर्कंदा कहाँ त्यति सहज थियो होला र ? मन भारी बनाउँदै फेरि त्यसैगरी सल्लाघारीको ओरालो झरेर बेहेरे पिखुवाको दोभानको पाटीबाट पिखुवा तरेर हल्लुडे दहमुनिबाट लामपातेको फेद हुँदै ठाडो उकालो लाग्नुपर्‍यो । ठाउँ-ठाउँमा भेटिएका वरपिपलको चौतारो र पाटीपौवामा झोला बिसाउँदै सुस्केरा काढेर फेरि ठाडो उकालो लाग्नुपर्थ्यो । यसरी मालवाँसेको उकालो काटेर बल्ल पुगिन्थ्यो सिमल डाँडा । सिमल डाँडामा लामो सुस्केरा काट्दै केहीबेर थकाइ मारेर बाटो लागेपछि कोटडाँडा-टक्सार हुँदै भोजपुर पुगिन्थ्यो । कहिले घाम, कहिले पानी, कहिले आँधीहुरी, कहिले पहिरो ! त्यतिवेला थिएन अहिलेझैं सहज मोटर बाटो । घरको खाजा-चामल ओसारेर यसैगरी गुराँसेको ओहोरदोहोरमा बिते विद्यादेवीका आधा दर्जन वर्ष ।

कसलाई थाहा, पाइला अगाडि बढ्दै जाँदा यात्रा कहाँ पुग्छ ? गन्तव्य कहाँ हो ? अध्ययनकै क्रममा गुराँसेबाट भोजपुर हुँदै विद्यादेवीको यात्रा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर पुग्यो । २०३७ सालमा मोरङ क्याम्पसमा स्नातक अध्ययन सुरु गर्नुभएकी विद्यादेवी पुनः त्यहीको महिला र विद्यार्थी आन्दोलनमा समाहित हुनुभयो । आन्तरिक रुपमा अनेमसंघ र बाह्य रुपमा अनेरास्ववियूमा आवद्ध भएर संगठनको काम गर्दागर्दै उहाँको तत्कालीन मालेका नेता सागर (मदन भण्डारी)सँग भेट हुन्छ ।

निरंकुश पञ्चायती कालमा टाउकोको मूल्य तोकिएको एउटा नेतासँगको बैबाहिक सम्बन्ध भएर भूमिगत जीवन बिताउनु विद्यादेवीको लागि कम कष्टकर र चुनौतीपूर्ण थिएन ।

त्यही राजनैतिक भेटले विद्यादेवीको यात्राको मोड बदलियो । संगठनको माग र चाहनाअनुसार विद्यादेवी पाँडेको तत्कालीन मालेका भूमिगत नेता मदन भण्डारीसँग विवाह भयो । त्यो कठिन अवस्थामा राज्य प्रशासनबाट छलिएर कालरात्रीलाई पार गरेर सूर्योदय देख्ने कल्पनासमेत गर्न नसक्ने वेला त्यस्तो व्यक्तिसँगको दाम्पत्य सम्बन्ध स्वीकार्नु कति चुनौती थियो होला ? न कुनै आशा न त कुनै भरोसा ! बाल्यकालमै बुवाको देहावसानपश्चात झेल्दै आएका असहजता र चुनौतीका पहाडहरु त्यो बैबाहिक सम्बन्धपश्चात अझ अग्लिंदै गए । निरंकुश पञ्चायती कालमा टाउकोको मूल्य तोकिएको एउटा नेतासँगको बैबाहिक सम्बन्ध भएर भूमिगत जीवन बिताउनु विद्यादेवीको लागि कम कष्टकर र चुनौतीपूर्ण थिएन ।

एउटी विवाहिता नारीले पतिको सुरक्षाको, उनको पहिचानसमेत लुकाएर हिँड्नुपर्ने बाध्यता कति पीडादायी थियो होला ? डेरामा बस्दा घरबेटीलाई समेत सत्य कुरा भन्न नमिल्ने । आफ्ना पति चिनाउँदा जीवनकै जोखिम उठाउनुपर्ने अवस्था । पतिको पहिचान लुकाएर समाज र परिचितहरुका सामु झूटो बोल्नुपर्दा आफैं चरित्रहीन महिला ठहरिने बाध्यात्मक परिस्थिति । तर, एउटी प्रतिबद्ध, सचेत र संगठित नारी भएकैले सबै अवस्थालाई स्वीकार्दै उहाँको राजनैतिक यात्रा निरन्तर अगाडि बढ्यो । ती सबै असहजताका माझ दुई छोरी उषाकिरण र निशाकुसुम जन्मिए र असहजताकै तलाउमा डुबुल्किँदै हुर्किए ।

तर, त्यतिवेला उहाँको दायित्व संगठनको काम गर्ने र छोरीहरु हुर्काउनेमात्र थिएन । आफ्नो दैनिक जीवनयापनका लागि आर्थिक उत्पादनमा सरिक हुनु पनि थियो । यात्रा त्यहाँसम्म पुग्दा अविवाहित रहँदासम्मको माइतीको सम्पन्नताबाट उहाँ धेरै टाढा पुगिसक्नुभएको थियो । अब त्यो विगत र वर्तमानको बीचमा अग्लो बैचारिक पर्खाल खडा भैसकेको थियो । आफ्नो संघर्षमय वैचारिक जीवनका सामु विस्तारै विस्तारै त्यो सम्पन्न विगत एउटा स्मृतिमात्र बनिरहेको थियो । त्यसरी क्रमशः एउटा महान सपना बोकेर हिँडेको योद्धाकी सहयात्रीका लागि सबै चुनौती आफैं सहज र स्वीकार्य बन्दै गए । बरु आफ्नो बाल्यकालबाटै देख्दै र झेल्दै आएको संघर्षमय जीवनको अनुभवले उहाँलाई अझ दृढ र साहसी बनाइरहेको थियो ।

निभ्ने वेलाको झरिलो बत्ती झैं पञ्चायती निरंकुशताको चरम ज्यादती बढिरहेको थियो । देशमा प्रजातन्त्रका लागि लडेका पञ्चायतविरोधी शक्तिहरुको संयुक्त जनआन्दोलन अगाडि बढिरहेको थियो । त्यो आन्दोलनको मूल सारथि कमरेड सागर (मदन भण्डारी) हुनुहुन्थ्यो । अन्ततः आन्दोलन सफल भयो । जनताको जीत भयो र टाउकोको मूल्य तोकिएका राजनेताहरुको पहिचान अगाडि आयो । अनि बल्ल दुनियाँका सामु विद्यादेवीको पतिको पहिचान खुल्यो । उहाँ एक सशक्त राजनेताकी पत्नीका रुपमा परिचित हुनुभयो । त्यसपछि कमरेड मदन भण्डारीको पहिचान, भूमिका र व्यक्तित्वका सामु विद्यादेवीको राजनैतिक भूमिका क्रमशः ओझेल पर्‍यो ।

त्यही माग थियो समयको एउटा राजनेतालाई अगाडि बढ्न । भन्ने गरिन्छ, कुनै पनि महान पुरुषको उच्च सफलताको पछाडि एउटी महिलाको साथ र हात रहन्छ । मदन भण्डारीको उच्च सफलताको पछाडि पनि त्यसैगरी निरन्तर विद्यादेवीको साथ र हात रहिरह्यो । उहाँको सम्पूर्ण ज्ञान, अनुभव, प्रतिबद्धता, मेहनत र साथ-सहयोगले विलक्षण क्षमता र प्रतिभाका सागर राजनेता मदन भण्डारीलाई अझ धेरै हौसला थपिरहेको थियो । क्रमशः विगतका कठिन घडीहरुलाई भुल्दै आफ्नो वास्तविक पहिचानसहित सफल राजनैतिक जीवनसँगै उहाँको सुखद पारिवारिक जीवन पनि अगाडि बढिरहेको थियो । आँधीहुरी र असिनापानीपश्चात खुलेको शान्त प्रकृति झैं उहाँको जीवनमा पनि बल्ल एउटा शान्ति र सहज परिस्थिति निर्माण भएको थियो ।

विद्यादेवीको जीवनमा २०५० साल जेठ ३ गते अर्को अकल्पनीय बज्रपात पर्‍यो । तत्कालीन नेकपा एमालेका महासचिव, देशका सशक्त राजनेता प्रतिनिधिसभाका प्रमुख प्रतिपक्ष दलका नेता मदन भण्डारी र पार्टीका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय ढंगले दासढुङ्गामा जीप दुर्घटना भएर देहावसान भयो

तर, त्यो शान्ति र सहजता धेरै समय रहन सकेन । विद्यादेवीको जीवनमा २०५० साल जेठ ३ गते अर्को अकल्पनीय बज्रपात पर्‍यो । तत्कालीन नेकपा एमालेका महासचिव, देशका सशक्त राजनेता प्रतिनिधिसभाका प्रमुख प्रतिपक्ष दलका नेता मदन भण्डारी र पार्टीका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय ढंगले दासढुङ्गामा जीप दुर्घटना भएर देहावसान भयो । यो घटनाले सम्पूर्ण राष्ट्र शोकमग्न भयो । देशले महान राजनेता गुमायो । विद्यादेवी भण्डारीसँगै सिङ्गो राष्ट्र विधवा भयो । उषाकिरण र निशाकुसुमसँगै पार्टी र उहाँप्रति आशा-भरोसा गरिरहेका सम्पूर्ण जनता टुहुरा भए ।

त्यो शोकाकुल परिस्थितिलाई शक्तिमा बदल्दै देश, जनता, पार्टी र आम शुभेच्क्षुकको चाहना र भावनालाई सम्मान गर्दै विद्यादेवी भण्डारीको राष्ट्रिय राजनीतिमा आगमन भयो । काठमाडौंको तत्कालीन क्षेत्र नम्बर १, जहाँबाट प्रजातन्त्र पुनःस्थापनापश्चातको पहिलो निर्वाचन (२०४८) मा तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गर्दै नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले विजय हासिल गर्नुभएको थियो । दासढुङ्गा दुर्घटनापश्चात उहाँको निर्वाचन क्षेत्र रिक्त हुन गयो । रिक्त स्थानमा किशोरावस्थादेखि राजनैतिक सुझबुझ, जिम्मेवारी र भूमिका निर्वाह गर्दै आएकी स्वर्गीय मदन भण्डारीकी जीवन सहयात्री विद्यादेवी भण्डारीको उम्मेदवारी भयो । त्यही उम्मेदवारी नै विद्यादेवीको संसदीय राजनीतिको पहिलो पाइला थियो ।

त्यो यात्राको आरम्भसँगै एकातिर पतिको देहावसानको अकल्पनीय पीडा, नाबालक सन्तानको दायित्व र भविष्यको चिन्ता, जीवन साथी गुमाएपश्चात परिवार, आफन्त र समाजबाट हुने असहज व्यवहार र परिस्थिति थियो भने अर्कोतिर उहाँको उम्मेदवारीसँगै फेरि पनि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नै प्रतिस्पर्धी हुनुहुन्थ्यो । त्यतिवेला उहाँको उम्मेदवारीलाई कमजोर बनाउन हेभीवेट र फिदरवेट भनेर अनेक किसिमका नकारात्मक प्रचारबाजी गर्दा पनि विचलित नभई निर्वाचन अभियानमा डटेर उहाँ जनताकी छोरीको रुपमा स्थापित हुनुभयो र भारी मतले विजयी हुनुभयो ।

संसदीय राजनीतिमा प्रवेशसँगै उहाँले क्रमशः पार्टीभित्र पनि थप भूमिका र जिम्मेवारी सम्हाल्दै जानुभयो । उहाँले लामो समय पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो भने पार्टीको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । त्यतिवेला शिक्षा आर्जनका लागि गरिएका मेहनत र बिताएका ती अविस्मरणीय यादले आज पनि उहाँको मन पलपलमा गुराँसेमै घुमिरहन्छ । ती डाँडा, पाखापखेरा, झरना र खोलानाला आज पनि उहाँका धड्कन बनिरहेका छन् ।

Comments are closed.