Online News

राजधानीको नाम पारित हुन सक्ने, प्रदेश २ को प्रदेशसभा अधिवेशन डाकिदै

काठमाण्डौं/ प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो ।

प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहकाअनुसार एक दिनअघि मन्त्रिपरिषद्को बैठकले विभिन्न ऐन, प्रदेशको स्थान र राजधानीको नाम टुङ्गो लगाउन प्रदेश सभा अधिबेशन आह्वानको निर्णय गरेको हो ।
प्रदेश २ मा चार दलीय गठबन्धन सरकार गठन भएपछि प्रथम पटक प्रदेशसभा अधिवेशनको आह्वान गरिएको छ ।

जनता समाजवादी पार्टीको नेतृत्वको प्रदेश २ सरकारलाई दुई तिहाईभन्दा बढी प्रदेश सभासदको समर्थन छ । जसपाको नेतृत्वमा नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र गठबन्धन सरकारमा सहभागी छन । गठबन्धन दलहरुबीच भने प्रदेशको नाम र राजधानीको विषयमा सहमति हुन बाँकी छ ।

यसअघि नै जसपाले प्रदेशको नाम मधेश प्रदेश र जनकपुरधामलाई स्थायी राजधानी प्रस्ताव गरेको थियो । सो प्रस्तावको पक्षमा हालका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सातौं अधिवेशनमा समर्थन जनाइसकेको छ ।

 गठबन्धनमा सहभागी दलहरुमध्ये तत्कालनी विपक्षी दलको भूमिकामा रहेका नेपाली काँग्रेस प्रदेशको नाम मिथिला–भोजपुरा राख्ने अडानमा छ ।

विगतमा नेकपा माओवादी केन्द्र मधेश प्रदेशको विपक्षमा रहेपनि यस पटक पक्षमा रहने अनुमान गरिएको छ । विगतको अधिवेशनदेखि नै नेकपा (एमाले) मधेश प्रदेशको पक्षमा छ ।
प्रदेशको राजधानी जनकपुरधामलाई बनाउने लगभग सबै दलहरु सहमत नै देखिएकाले आठौं महाधिवेशनबाट राजधानी पारित हुन सक्ने आँकलन गरिएको छ ।

Comments are closed.