Online News

राष्ट्राध्यक्षका रूपमा विद्यादेवी भण्डारी

8
सात वर्ष मुलुकको सर्वोच्च पदमा बसेर आज शीतलनिवासबाट निवास फर्किनु भएको छ विद्यादेवी भण्डारी । २०१८ साल असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा एउटा किसान परिवारमा जेठो सन्तानको रूपमा जन्मिएको व्यक्ति हुनुहुन्छ उहाँ । त्यसै पनि भोजपुर पूर्वी पहाडको शैक्षिक/सांस्कृतिक विषयका लागि एउटा महत्वपूर्ण केन्द्रका रूपमा रहेको र पिता स्थानीय विद्यालयका प्रधानाध्यापक भएका कारण विद्याजीको पठनपाठनका लागि अनुकूल वातावरण रह्यो ।
उहाँ भोजपुरको विद्योदय माध्यमिक विद्यालय र भोजपुरको बहुमुखी क्याम्पसमा आईए पढ्दै गर्दा ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन’ को सक्रिय कार्यकर्ताको रूपमा क्रियाशील रहनुभयो ।
२०३५ सालमा भूमिगत रूपमा गठित ‘नेपाल कम्युनिष्ट पार्टी (माले)’ को स्थापनासँगै उहाँ त्यससित सम्बन्धित हुनुभयो । यही यात्रालाई अगाडि बढाउने क्रममा २०३६ सालमा पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । तत्कालीन ‘माले’ ले विभिन्न वर्ग, पेशा र समुदायभित्र आफ्नो राजनीति र संगठन विस्तार गर्ने क्रममा ‘अखिल नेपाल महिला संघ’ लाई २०३७ सालमा पुनर्गठन गरेको थियो ।
उहाँ २०३९ सालमा मदन भण्डारीसित वैवाहिक बन्धनमा बाँधिनुभयो । २०५० साल जेठ ३ गते रहस्यमय सडक दुर्घटनामा भएको मदनको मृत्यु र त्यस घटनाले पार्टीभित्र र उहाँको निजी जीवनमा सिर्जना गरेको अत्यासलाग्दो अवस्थासित जुध्दै पार्टी, जनप्रतिनिधि संस्था र राज्य संचालनमा महत्वपूर्ण जिम्मेवारी लिंदै आज दोस्रो पटक राष्ट्राध्यक्षको महत्वपूर्ण जिम्मेवारीलाई योग्यतापूर्वक पूरा गर्नुभएको छ ।
संकटपूर्ण जीवन
३ जेठ २०५० नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको दिन हो । रहस्यमय सडक दुर्घटनामा महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । साँझ पर्नै लागेको थियो, म लगायतका केही साथीहरू बागबजारस्थित पार्टी कार्यालयमै थियौं ।
त्यस दिनका कामहरूका बारेमा छलफल गर्दै भोलिपल्टका कामहरूका बारेमा केही योजनाहरू बनाउँदै थियौं । त्यहीबेला खबर प्राप्त भएको थियो । खबर सुनेर हामीहरू अत्तालिएका थियौं– कोही त रोएका पनि थियौं । अत्तालिंदै चारैतिर सूचना गर्न थाल्यौं । हामीहरूलाई के गरौं, कसो गरौं भइरहेको थियो ।
सम्भव भएका नेता साथीहरूलाई त्यहींबाट खबर गरिरहेका थियौं । जानकारी पाउनासाथ साथीहरू पार्टी कार्यालयमा आउनुभएको थियो । त्यसैबीच मैले आफ्नो डेरामा मीरालाई नक्साल चारढुंगे गइहाल्न र विद्याजी र केटाकेटीहरूलाई सान्त्वना दिन र सम्हाल्ने काम गर भनेर अह्राएको थिएँ । उनी स–साना छोराहरूलाई छोडेर त्यहाँ पुगेकी थिइन् ।
ठूलो र अत्यन्त दुर्भाग्यपूर्ण घटना घटेको थियो । उहाँहरूको रहस्यमय मृत्युले नेकपा(एमाले) को जीवनमा मात्र नभएर मुलुककै राजनीतिमा ठूलो क्षति पुगेको थियो । सिंगो मुलुक नै तरंगित हुन पुगेको थियो, आम नेपाली जनता शोकमा डुबेका थिए ।
तर मदन र आश्रितका परिवारमा पुगेको क्षति अकल्पनीय थियो । दुइटा स–साना छोरीहरू छोडेर मदन जानुभएको थियो, जीवराजजीका नहुर्किसकेका एक छोरी र एक छोरा थिए । अत्यन्त ठूलो बज्रपात परेको थियो ती परिवारमा ।
लगभग ११ वर्ष मात्र पुगेको थियो– मदन विद्या दाम्पत्य जीवनमा बाँधिनुभएको । यस अवधिमा पार्टीको जिम्मेवारीका कारण निकै समय सँगै बस्ने स्थिति समेत बनेन । काखमा राम्ररी नहुर्किसकेका दुइटी स–साना छोरीहरू थिए ।
पहिले जस्तो पार्टीमा खासै संगठित जिम्मेवारी पनि थिएन, एक किसिमले गृहिणी जस्तो स्थिति बनेको थियो विद्याजीको । मदनजीको विशेष किसिमको जिम्मेवारी र त्यसमा सघाउ पुर्याउनुपर्ने आवश्यकता, आमा भएर स-साना छोरीहरूको देखभाल गर्नुपर्ने जिम्मेवारी आदि कारणले विद्याजी त्यो अवस्थामा पुग्नुभएको थियो ।
यहीबेला, उहाँमाथि त्यस्तो बज्रपात परेको थियो ! आम मानिसहरू यस घटनाबाट काँपिरहेको जस्तो लाग्थ्यो । मदन–आश्रितको रहस्यमय मृत्युले एउटा डरलाग्दो मौनता छाएको थियो । सबै जना अब विद्याजीको बाँकी जीवन कसरी बित्ला वा अगाडि बढ्ला भन्ने चिन्तामिश्रित खुल्दुलीमा थिए ।
पार्टीका केही नेताहरू, उहाँका नजिकका केही साथीहरू विस्तारै उहाँलाई भन्न थाल्दैथिए– ‘अब बाँकी जीवन मदन कमरेडले हिंडेको राजनीतिक जीवनलाई पछ्याउनुपर्छ, राजनीतिमा आउनुपर्छ, तपाईं राजनीति गरेरै आउनुभएको मान्छे ।’
तर परिस्थितिको जटिलतामा उहाँ राम्ररी निर्णय गर्न सकिरहनुभएको थिएन । त्यसको केही समयपछि नै, २०५० सालमै मदन कमरेडले प्रतिनिधित्व गरेको क्षेत्र— काठमाडौं–१ मा उपनिर्वाचन हुने भयो । सबै राजनीतिक दलहरू उम्मेदवार उठाउने कुरामा केन्द्रित रहे, नेकपा (एमाले) ले पनि आफू – आफ्नो प्रिय नेता – विजयी बनेको क्षेत्रमा पुनः विजयी बन्न सक्ने – जनसमर्थन प्राप्त गर्न सक्ने उम्मेदवार उठाउनुपर्ने आवश्यकता थियो ।
राजनीतिक पृष्ठभूमि, भावनात्मक सम्वन्ध, जनसमर्थन र विजयको सम्भावनालाई ख्याल गर्दै एमालेले विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । यो निर्णयले व्यापक जनसमर्थन प्राप्त गरेको थियो । विद्याजीले पार्टीले गरेको निर्णयलाई शिरोधार्य गर्दै प्रतिस्पर्धाको मैदानमा उत्रनुभएको थियो र, उहाँले शानदार ढंगले विजय प्राप्त गर्नुभएको थियो ।
विद्या भण्डारीजीले वैधव्य जीवनको असहज र पीडामिश्रित अवस्थामा दिवंगत पति र पार्टीका अत्यन्त सम्मानित नेताको स्थानमा विजयको झण्डा फहराउनुभएको थियो । यसरी, नयाँ चरणमा उहाँको राजनीतिको विजयी यात्रा प्रारम्भ भएको थियो । त्यसपछि, २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको संसदीय निर्वाचनमा काठमाडौंबाट उहाँले शानदार ढंगले विजय प्राप्त गर्नुभयो ।
विद्याजी यो नयाँ जिम्मेवारी लिइरहँदा राजनीतिक जिम्मेवारीको भारी त बहन गरिरहनुभएको थियो साथै चुनौतीपूर्ण वैधव्य जीवनसित पनि जुधिरहनुभएको थियो । त्यसक्रममा यस्तो लाग्थ्यो-उहाँ काँडाघारीहरूलाई छिमल्दै राजनीतिक यात्रामा निरन्तर अगाडि बढिरहनुभयो ।
जिम्मेवारपूर्ण राजकीय काम
लगातार दोस्रोपटक राष्ट्राध्यक्षको ऐतिहासिक र गौरवपूर्ण जिम्मेवारी पूरा गर्दै आजको दिनसम्म आइपुग्दा के देखिन्छ भने-विद्या भण्डारीजीले राजनीतिक जीवन प्रारम्भ गरेदेखि आजसम्म आधारभूत रूपमा सुझबुझपूर्ण राजनीति गर्दै आउनुभयो । यो यात्रामा कहिले विजय प्राप्त गर्नुभयो – कहिले पराजित पनि हुनुभयो ।
उहाँले कहिले प्रशंसा पाउनुभयो कहिले त टिप्पणी र अपमान पनि पाउनुभयो, कहिलेकाहीं खुशीका क्षण पनि रहे कहिले भने पीडाका भारी बोकेर पनि हिंड्नुपर्यो । त्यस्तो प्रतिकूल अवस्थामा पनि उहाँले आधारभूत रूपमा कहिल्यै सन्तुलन गुमाएको देखिएन । प्रस्तुति र अभिव्यक्तिका साथै सारमा समेत विद्या भण्डारीमा यो विशेषता हामीले देखेका छौं ।
नेकपा (एमाले) को २०५९ मा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि लगातार दुइटा महाधिवेशनबाट– आठौं राष्ट्रिय महाधिवेशन (२०६५) र नवौं राष्ट्रिय महाधिवेशन (२०७१) मा – उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
यसरी पार्टी नेतृत्वमा रहेको बेला उहाँको पार्टीभित्रको भूमिका प्रभावकारी नै रहेको थियो । पार्टीभित्र चलेका बहस÷विवादमा उहाँले आफूलाई एउटा पृथक् पहिचानका साथ प्रस्तुत हुन कहिल्यै चुक्नुभएन । लगातार तीनपटक प्रतिनिधिसभाको सदस्य पदमा निर्वाचित हुँदा विद्याजीले एउटा जिम्मेवार जनप्रतिनिधिको भूमिका पूरा गर्नुभयो ।
जनप्रतिनिधिका हिसाबले जनस्तरबाट उहाँले खास टिप्पणीहरू सहनुपरेन । सधैं जनताको प्रिय प्रतिनिधिका रूपमा रहनुभयो । उहाँ जनप्रतिनिधि रहेकै बेला (अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष समेत रहेका बेला) राजनीतिक दलहरूभित्र र जनप्रतिनिधित्व हुने स्थानहरूमा महिलाहरूलाई कम्तीमा ३३ प्रतिशत स्थान सुरक्षित गराउने कुरामा उहाँले नेतृत्वदायी भूमिका खेल्नुभएको कुरा इतिहासमा सुरक्षित रहेको छ ।
विश्वमा राष्ट्रप्रमुख/सरकार प्रमुख महिलाहरूमा छब्बीसौं महिला हुनुहुन्छ उहाँ । उहाँको राष्ट्रपति कालमा भएका काम र योगदानबारे सुदूर भविष्यमा समेत लेखाजोखा भइनै रहनेछ र नेपालको राजनीतिको विकासक्रममा रुचि राख्ने जो–कोहीले पनि यी विषयहरूलाई आफ्नो अध्ययनको विषय बनाइरहनेछन् ।
२०५४ सालमा पहिलो पटक वातावरण मन्त्री र २०६६ सालमा रक्षा जस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने महत्वपूर्ण स्थानमा पुग्नुभयो । यी दुवै पटक उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो र योग्यतापूर्वक नेतृत्व गर्नुभयो । आजसम्मका विभिन्न मोडहरूमा उहाँले यी कुरा देखाउँदै आउनुभएको छ ।
अत्यन्त जोखिमपूर्ण राजनीतिक परिस्थितिका बीचमा उहाँले त्यो जोखिम मोलेर अभियानमा जुटेको एउटा नेतासित आफ्नो जीवन जोड्ने साहसिक निर्णय गर्नुभयो । यो दूरदर्शिता र सुझबुझपूर्ण निर्णय थियो । त्यसबेला त्यो निर्णयमा पुग्नु त्यति सहज हुन सक्तैनथ्यो तर उहाँले त्यो गर्नुभयो ।
यस्तै, आफ्ना सम्मानित पति मदन भण्डारीको निधनपछि पार्टीको पूर्णकालीन कार्यकर्ताका रूपमा जीवनलाई अघि बढाउने निर्णयमा पुग्नु र त्यसपछिका हरेक महत्वपूर्ण मोडहरूमा चुनौतीको सामना गर्दै त्यही लक्ष्य अनुरूप आफूलाई अगाडि बढाउने काम गर्नु सुझबुझपूर्ण सोचाइलाई नै पुष्टि गर्ने आधार हुन् ।
पार्टीका महत्वपूर्ण जिम्मेवारी लिंदा– ती स्थानलाई सही तरिकाले परिचालन गर्दा, पार्टीभित्रका वैचारिक बहसहरूमा अडान लिंदा, पटक पटक जननिर्वाचित प्रतिनिधि बनेका बेला, राज्य संचालनका महत्वपूर्ण जिम्मेवारीहरूमा पुगेका बेला र पछिल्ला दिनहरूमा राष्ट्राध्यक्षको भूमिकामा पुग्दा यस किसिमले काम गरेको देखिएको छ ।
विचार बनाउँदा, अडान लिंदा, विषयलाई निष्कर्षमा पुर्‍याउँदा, आफ्ना भनाइहरू प्रस्तुत गर्दा र अरूका कुराहरूप्रति प्रतिक्रिया जनाउँदा यो कुरा देखिंदै आएको छ । मदन भण्डारीसितको सांस्कृतिक/भावनात्मक सम्बन्ध र विरासतका कारण पनि यी कुराहरू अक्षुण्ण रूपमा देखिने गरेका हुन् भन्न सकिन्छ । यस किसिमको सुझबुझपूर्ण विचार र प्रस्तुतीकरण सम्बन्धमा बेलाबेलामा केही टीकाटिप्पणी आए पनि दीर्घकालीन हिसावले यिनले एउटा सकारात्मक सन्देश दिएका छन् ।
राष्ट्राध्यक्षका रूपमा विद्या भण्डारी
वर्तमान संविधानले राष्ट्रपतिलाई ‘सेरेमोनियल’ ठाउँमा राखेको छ । राष्ट्रपतिले सरकारले गरेका औपचारिक निर्णयहरूलाई स्वीकृत दिने काम मुख्यतः हो । राष्ट्रपति विद्या भण्डारीजीले पूर्ण जिम्मेवारीका साथ र योग्यतापूर्वक ती कामहरू पूरा गर्नुभएको छ । पहिलो कार्यकाल ११ कात्तिक २०७२ देखि शुरू भएर २८ फागुन २०७४ सम्म थियो ।
२९ फागुन २०७४ मा उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभयो । दुवै कालमा राष्ट्रपति विद्या भण्डारीजीले संविधानको पालना र संरक्षणलाई विशेष ख्याल गरेको देखिन्छ । उहाँले राष्ट्रको अभिभावकका हिसाबले उक्त भूमिका पूरा गर्नुभएको छ ।
उहाँको यस किसिमको भूमिकाप्रति केही केहीले नकारात्मक कोणबाट पनि कुराहरू नउठाएका होइनन्, तर उहाँले राष्ट्रिय हित र संविधानको पालना र संरक्षणका लागि विशेष सचेतनता अपनाउनुभएको देखिन्छ ।
विश्वमा राष्ट्रप्रमुख/सरकार प्रमुख महिलाहरूमा छब्बीसौं महिला हुनुहुन्छ उहाँ । उहाँको राष्ट्रपति कालमा भएका काम र योगदानबारे सुदूर भविष्यमा समेत लेखाजोखा भइनै रहनेछ र नेपालको राजनीतिको विकासक्रममा रुचि राख्ने जो–कोहीले पनि यी विषयहरूलाई आफ्नो अध्ययनको विषय बनाइरहनेछन् ।
(पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष हुन् ।)

नेपाल प्रेस डटकमबाट सभार

Comments are closed.