Online News

१२ वर्षे करिअरमा बेनिशाको पोल्टामा बल्ल हिट फिल्म

कलाकारलाई हिट फिल्मको भोक कतिसम्म हुन्छ भन्ने कुरा अभिनेत्री बेनिशा हमाललाई जति अरु कसलाई थाहा होला र ! १२ वर्ष लामो करिअरमा एउटा पनि फिल्म हिटमा सूचिकृत नहुँदा उनलाई मिडियाले ‘फ्लप हिरोइन’को ट्याग दियो । ‘अभागी हिरोइन’ भन्दै खिसिटिउरी गर्नेहरु कम थिएनन् । तर, भनिन्छ नि, ‘पखाईको फल मीठो हुन्छ ।’ त्यो फल उनको पोल्टामा बल्ल परेको छ ।

बेनिशाको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘छक्का पञ्जा ४’ले यतिखेर बक्सअफिसमा आक्रामक कमाई गरिरहेको छ । सम्भवतः दोस्रो हप्ताको विकेन्डसम्म फिल्मले १० करोडको आँकडा पार गर्न सक्नेछ । एकातिर फिल्मको कलेक्सन ग्राफ उकालोलाग्दो छ भने अर्कोतिर आफ्नो अभिनय र चरित्रलाई दर्शकका साथै समीक्षकले पनि प्रशंसा गर्दा उनलाई दुवै हातमा लड्डू झैं भएको छ ।

सन् २०११ मा प्रदर्शन भएको फिल्म ‘स्वर’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्माको डेब्यू पनि यही फिल्मबाट भएको थियो । संयोग नै मान्नुपर्छ, केकीको पहिलो हिट दीपकराज गिरी र दीपाश्री निरौला समुहको ‘छ माया छपक्कै’ थियो । र, बेनिशाले पनि पहिलो पटक हिटको सु:ख दीपक-दीपाश्री समुहकै फिल्मबाट पाएकी छन् ।

‘स्वर’पछि उनले एक दर्जन बढी फिल्ममा काम गरिन् । प्रायःमा उनको अभिनयको राम्रै प्रशंसा भयो । फिल्म ‘ब्लाइन्ड रक्स’बाट पोल्टाभरि उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत पाइन् । तर, हिटको खुसी उनलाई कुनैले दिएका थिएनन् । यद्यपि, उनी कामविहीन पनि हुनुपरेको थिएन/छैन । अब बेनिशाले कुन हिसाबले फिल्म छनोट गर्दै जान्छिन्, त्यसले उनको करिअरको रुपरेखा कोर्नेछ ।

Comments are closed.